आजदेखि साउने सोमबारको व्रत शुरु, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईचो

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालु तथा भक्तजनहरुको घुइँचो लागेको छ। सौरमासअनुसार श्रावण महिनाको पहिलो सोमबारको व्रत आजदेखि शुुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको हो ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले बताउनु भयो । गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताउनुभयो ।

श्रावण महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिन्छ । श्रावण महिनाको सोमबार हिन्दू महिलाले व्रत बस्ने परम्परा रहेको छ । पशुपतिनाथको मन्दिरमा चान्द्रमास र सौरमास दुवै अनुसारका श्रावणको सोमबारका दिनमा दर्शनार्थीको भीड लाग्दछ ।

श्रावणको सोमबार पशुपतिनाथमा भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जनाइएको छ । पशुपतिनाका चार वटै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिने पनि बताइएको छ ।

श्रावणको सोमबारका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । श्रावणको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

श्रावण महिनामा बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको घुइँचो लाग्दछ ।आजदेखि श्रावण महिनाको पहिलो सोमबारको व्रत शुरु भएकाले यसका लागि पशुपति क्षेत्रमा सम्पूर्ण तयारी सकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

श्रावण महिनामा सोमबारका दिन पशुपतिनाथका साथै काठमाडौँ उपत्यका र देशभरका शिवालयमा आशुतोष भगवान शिवको पूजा गर्ने भक्तजनको भीड लाग्दछ । श्रावण महिनाभरि सोमबारको व्रत गरेका भक्तजनले अन्तिम सोमबारको दिन गोदान तथा पूर्णपात्र दान गरेर व्रत समापन गर्दछन् ।