अध्यादेशबाट शासन गर्न खोजेको विपक्षीको आरोप, तत्काल संसद् अधिवेशन बोलाउन माग

विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको र अध्यादेशमार्फत शासन चलाउन खोजिएको विषयमा छलफल भएको बताए। सरकारले संसद्को औचित्य नै समाप्त पार्न खोजेको देखिएकाले अधिवेशन आह्वान गर्नुपर्ने विपक्षीको निष्कर्ष रहेको उनको भनाइ छ।