काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताए ।
बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो कुरा बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरुले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने बताए ।
उपाध्यक्ष श्रेष्ठले अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिनेकुरा अहिलेको आवश्यकता भएको जिकिर गरे । उनले माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भएपनि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भुमिका महत्वपूर्ण रहने बताए। उनले सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक,आक्रोशपूर्ण ढंगले प्रश्तुत हुन नहुने पनि बताए ।
उपाध्यक्ष श्रेष्ठले पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको पनि बताए। उनले अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने बताए । उनले वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने आशंका व्यक्त गरे ।
उपाध्यक्ष श्रेष्ठले भने, ‘अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरु अब चलाउनुस् भनेर कुनै दिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ । अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरे ।


















