विशेष समिति सरकारका लागि मार्गनिर्देशक–गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा आज बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पारे । “सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि सरोकारवासँग छलफल भइरहेको छ”, उनले भने , “सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने विश्वास लिएको छु ।” समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे ।

देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन समितिले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको हो । छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरुको बयान लिन सहजीकरण गरिदिन गृहमन्त्री लेखक समक्ष आग्रह गरे ।

सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको गृहमन्त्री लेखकले जवाफ दिए । सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरेर जेलमा राखिएकाको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने उनले बताए ।

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए ।