श्रमिक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

जेटियुसिसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदुत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरुको संख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाएको बताए ।

अध्यक्ष कुँवरले रोजगारीको नाममा जान्दाजान्दै पनि युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति दिँदै श्रमिक पठाउने कुरा मानवतामाथिको अन्याय भएको बताए । उनले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीलाई फर्काउन नसकेको अवस्थमा पुनः युद्धग्रस्त देशमा श्रमिक पठाउने कुरा जायज नरहेको बताए । उनले युद्धग्रस्त मुलुकमा श्रमिक पठाउने विषय संवेदनशील रहेको भन्दै युद्धग्रस्त देशमा श्रमिक पठाउन हतार गर्न नहुने बताए।

अध्यक्ष कुँवरले भन्नुभयो, ‘भर्खरै मात्र सरकारले युद्धग्रस्त मुलुक इजरायलमा केयर गिभरका रुपमा श्रमिकहरु पठाउने निर्णय गरी प्रक्रिया अघि बढाएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । इजरायलमा कार्यरत श्रमिकहरु अन्यत्र मुलुकमा फर्किरहेका छन् । जुन मुलुकमा केही समयअघि भएको युद्धमा हाम्रा नागरिकहरु युद्धबन्दीको रुपमा रहेका छन् । विपिन जोशीको अवस्था के छ ? उनलाई मुलुक फर्काउन सकिएको छैन । कुन बेला युद्ध फेरि भड्किन्छ थाहा छैन । अहिले हतार गर्नु हुँदैन थियो ।’

अध्यक्ष कुँवरले देशमा रोजगारीको अवस्था भयावह रहेको भएपनि युद्ध नभएका देशमा श्रम सम्झौता गरेर श्रमिक पठाउन सकिने बताए । श्रमिकले मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा मात्रै श्रमिक पठाउनु उचित हुने बताए। सकेसम्म देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आफूहरुको माग रहेको पनि बताए ।