उथलपुथलप्रेमी प्रचण्डको बृहत् वाम एकताको डङ्का

हरेक चुनावबाट जनमत गुमाएर कमजोर बन्दै अस्तित्व रक्षातिर उन्मुख दल नेकपा (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताको रटान लगाएको छ । जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समाजवादी क्रान्तितर्फ डोहोर्‍याउन कम्युनिस्ट धाराका शक्तिहरूको एकता अपरिहार्य रहेको भन्दै त्यससम्बन्धी प्रस्ताव नै ल्याएका छन् । प्रस्तावउपर बैठकमा छलफल प्रारम्भ भएको छ । आइतबार पनि छलफल हुने माओवादी सचिव लिलामणि पोखरेलले सानन्यूजलाई जानकारी दिए ।

‘वर्तमान संविधानको दुई ठाउँमा देश समाजवादउन्मुख भनिएको छ । तर, समाजवादी शक्तिहरू अलगथलग छन्’, सचिव पोखरेलले भने, ‘यी शक्तिहरू मिले भने देशलाई समाजवादी क्रान्तिको पथमा अगाडि बढाउन सकिन्छ भन्ने ध्येयले अध्यक्ष कमरेडले बृहत वामपन्थी एकताको प्रस्ताव ल्याउनुभएको हो ।’
गत २१ फागुनमा प्रचण्डले प्रधानमन्त्री छँदा आफूले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग कायम गर्नुको उद्देश्य बृहत् वामपन्थी एकताका लागि भनेका थिए । तर, प्रचण्डले तत्काल भने पूर्वमाओवादी घटकहरूसँग एकता प्रक्रिया अघि बढाउने रणनीति लिएका छन् ।

माओवादीले निकट भविष्यमै एकता गर्न लागेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग हो । महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग पनि एकता गर्न लागेको छ । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट अलग भएका नेता धर्मेन्द्र बास्तोला समूहलाई पनि एकता प्रक्रियामा जोड्न लागेको छ । यी तीन पूर्वमाओवादी घटकलाई पार्टीमा भित्र्याउनै लागेको बेला बसेको स्थायी कमिटी बैठकमा बृहत् वामपन्थी एकताको बहस चलेको हो ।

माओवादीले यसअघि नै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि एकता प्रक्रियामा ल्याउने तयारी गरेको थियो । त्यसका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल नै गठन भइसकेको छ । कार्यदलले पार्टी नाम नै परिवर्तन गरेर भए पनि एकताका ढोका खोल्नुपर्ने मत प्रकट गरेको थियो । उता नेपाल नेतृत्वको दलले पनि पार्टी उपाध्यक्ष डा. बेदुराम भुसाल नेतृत्वमा कार्यदल गठन गरेको थियो । दुई पार्टीको कार्यदल तहमा बार्ता पनि भयो । तर, एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्नेगरिको छलफल भएको छैन ।

तत्कालीन नेकपामा एक जना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष दाहालसँगै नेपाल र झलनाथ खनाल एक ठाउँमा उभिएर अन्तरसङ्घर्ष गरेका थिए । नेकपा विघटनपछि पनि एमालेमा नेपाल भए पनि दाहालसँग सडकदेखि सत्तासम्मै सहकार्य गरे । यी आधारहरूले दुई दलबीच एकता हुने छाँट रहेको माओवादी उपाध्यक्ष सापकोटाले बताए । तर, एकता हुने सम्भावना तत्काल भने देखिएको छैन ।

चुनावअघि भने पूर्वमाओवादी नेतासमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि नाम फेराएर माओवादीसँग एकता प्रक्रियामा आउने अवस्थामा थियो । राजनीतिक घटनामा भएको उथलपुथलले माओवादीसँग एकता तत्कालका लागि जसपा नेपालको टरेको छ ।
माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङका अनुसार माओवादी, जसपा नेपाल, नेकपा एस र नेकपा मिलेर समाजवादी मोर्चा बनाउनुको अर्थ पनि पार्टी एकतासँग जोडिएको थियो । हाल भने यी सबै दल माओवादी अध्यक्ष दाहालले भनेजसरी एकैसाथ एकता प्रक्रियामा अघि बढ्ने सम्भावना देखिएको छैन ।
प्रमुख वामपन्थी शक्ति नेकपा एमाले भने तत्काल बृहत् वामपन्थी एकताको पक्षमा नखुल्ने भएको छ । बरु, आफ्नो पार्टीमा साना वामपन्थी दलहरूलाई विलयकरण गराउन एमालेले चाहेको छ । माओवादी अध्यक्ष दाहालले भन्दै आएको वृहत् वाम एकतालाई एमालेले हाँसोको रुपमा लिएको छ ।

‘पार्टी एकता भनेको दुई दलले हामी मिल्यौँ भन्दा हुने होइन । सैद्धान्तिक, राजनीतिक, वैचारिक कार्यदिशा मिल्ने स्थितिमा एकता हुने हो । कुनै लहडमा एकता हुन सक्दैन’, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘मुखको स्वादको लागि प्रचण्ड कमरेडले भनेको वृहत् वाम एकता ठिक हो तर प्राविधिक पक्ष मिलाउन गाह्रो हुन्छ ।’

निर्वाचन आयोगले अद्यावधिक गरेको राजनीतिक दलसम्बन्धी विवरणअनुसार नेपालमा कम्युनिस्ट पार्टी नाम गरेका २० भन्दा बढी दल छन् । जनमत पनि २०६४ पछि नेपालमा कम्युनिष्टको पक्षमा ६० प्रतिशत बढी छ । तर, सानो पसल थापेर व्यापारी बसेजसरी कम्युनिस्ट नेताहरू त्यसरी बसेका छन् । कुनै दलसँग त नेता छन्, कार्यकर्ता छैनन् । यस्तो संकटकालीन अवस्थाको सामना गरेका सबै कम्युनिस्ट शक्तिलाई माओवादी अध्यक्ष दाहालले एकता प्रक्रियामा लानुपर्ने प्रस्तावलाई अघि सारेका हुन् ।दाहालले माओवादी पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने प्रस्ताव अघि सारेका छन् । पार्टीलाई सुदृढ पार्न शुद्धीकरणलाई दाहालले प्राथमिकता दिएका छन् ।

उपाध्यक्ष सापकोटाले अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेको पनि जानकारी दिए ।अध्यक्ष दाहालको प्रस्तामाथि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राखेका छन् ।

बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गरेका थिए ।पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको बैठकको ठहर पनि छ । आगामी दिनमा विगतका सबै काम कारबाहीको थप संश्लेषण गरिने सापकोटाले बताए ।

उनका अनुसार बठैका नेताहरूले संसदमा सडकका मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि आन्दोलनको स्वरुप तय गरेर नयाँ ढंगबाट जनतामा जानुपर्ने विषयमा समेत छलफल सुरु भएको छ । यस्तो प्रस्ताव पार्टी अध्यक्ष दाहालले गरेका हुन् । सोहीअनुसार अघि बढ्न अध्यक्ष दहालले निर्देशनसमेत दिए ।