‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’

ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले संवैधानिक व्यवस्था गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताइन । ‘एनसी वुमन लिडरसिप फोरम’ द्वारा आज यहाँ आयोजित ‘निर्वाचन प्रणालीमा महिलाहरुको समान सहभागिताः वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक बागमती प्रदेशस्तरीय एक दिने प्रशिक्षण कार्यक्रममा उनले राज्यको हरेक तहमा ५० प्रतिशत महिला सुनिश्चित गर्न समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै सम्भव नहुने धारणा राखिन् ।

उनले आन्दोलनमा महिलाको योगदान महत्वपूर्ण हुँदाहुँदै नीति निर्माण तहमा महिला नहुँदा अधिकार कार्यान्वयन हुन नसकेको बताए । महिलाका नामबाट नागरिकता दिने व्यवस्था भए पनि सामाजिक मानसिकताका कारण अंश र वंशमा महिलाको हक अधिकार स्थापित हुन नसकेको उनको भनाइ थियो ।

पहिलो संविधानसभामा ३४ प्रतिशत महिला प्रतिनिधित्व भएको स्मरण गराउँदै उनले गठबन्धन गरेर निर्वाचनमा जाँदा महिलाको प्रतिनिधित्व र पहुँच घटेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषालले जनताको भावना जित्ने गरी काम गर्न महिला तयार हुनुपर्ने धारणा राखे । उनले राज्यका हरेक तहमा महिलाको प्रतिनिधित्वका लागि सबै पार्टीका महिला एकजुट हुनुपर्नेमा जोड दिइन्।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले संविधानमा प्राप्त राजनीतिक अधिकार अनुसार महिला प्रतिनिधित्व गराउन सहज नभएको बताइन्। उनले महिला प्रतिनिधित्व स्थापित गर्न निरन्तर सङ्घर्ष गर्नुपर्ने बताइन्।