मधेश लोकसेवा आयोगविरुद्ध उच्च अदालतमा रिट

मधेश प्रदेश लोक सेवा आयोगविरुद्ध उच्च अदालत जनकपुरमा रिट दायर भएको छ। प्रदेश लोकसेवा आयोगद्वारा लिइएको लिखित परीक्षामा उतीर्ण भएका ६ जना उम्मेदवारलाई अन्तर्वार्ता परीक्षाबाट बञ्चित गराइएको आरोप लगाउँदै आयोगविरुद्ध रिट दायर भएको हो।

निर्धारित समयमा उपस्थित नभएको बताउँदै ६ जना उम्मेदवारको अन्तर्वार्ता नलिएपछि आयोगविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । आयोगको विज्ञापन नं.१२७-२०७९-०८० कृषि सेवा, मत्स्य समूह, सहायक पाँचौ तह तथा विज्ञापन नं. ११६-१२०-२०७९-०८० इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी-इरिगेसन-बी एण्ड आर उपसमूह सहायक पाँचौ तहको लिखित परीक्षा उतीर्ण भएका निरजकुमार मण्डल, सुदिपकुमार यादव, उमेशकुमार साह, वसन्तकुमार यादव, मुकेशकुमार दास र रोशनकुमार दास अन्तर्वार्ताबाट बञ्चित भएका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका ९ लोचनाका उम्मेदवार उमेश कुमार साहले आयोगको वेबसाइट डाउन भएकाले त्यहाँ राखिएको सूचना पढ्न नपाएको र अन्तर्वार्ताको केही घण्टाअघि मात्र आयोगले फोन गरेर जानकारी गराएका कारण समयमा उपस्थित हुन नसकेपछि अन्तर्वार्ताबाट बञ्चित गराइएको दाबी गरेका छन ।

लिखित परीक्षामा उतीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता २०८० साल फागुन २० गते बिहान ८ बजे तोकिएको थियो । उम्मेदवार साह भने १० बजेमात्र आयोगको कार्यालय पुगेका थिए । आयोगका एक कर्मचारीले उनलाई समय सकिएको जानकारी गराएका थिए । साहका अनुसार ती कर्मचारीले एक सातापछि फेरि अन्तर्वार्ता हुने भन्दै १ हजार रुपैयाँको भौचरसहित छुट अन्तर्वार्ताका लागि निवेदन दिन भने। त्यसपछि आफूसहित ६ जनाले छुट अन्तर्वार्ताका लागि निवेदन दिएको साहको भनाइ छ ।