तीज र ऋषि पन्चमी

प्रकृतिको विधान छ, नारीधर्म, रजस्वला भनौँ मासिक धर्म । सिर्जनालाई निरन्तरता राख्न निश्चित विधानहरु तोकेको छ धर्म शास्त्रले र त यस्तो अधिकार केवल महिलामा मात्र छ । अघि वृत्तासुर बध, ब्रह्महत्या दोष देवताका राजा इन्द्रवाट झिकी विभिन्न ४ स्थानहरुमा राखियो, नदीको पहिलो छाल, जमिनको अग्लोे शिखर, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा । नारी रजस्वलाका समयमा स्पर्श दोष लाग्ने भयो, पानीको पहिलो छालमा नुहाउन नहुने, अग्लो भागमा अक्सिजन नहुने, आगोको पहिलो ज्वालामा खाना पकाउन नहुने कारण यसैले गर्दा हो । रजस्वलाको समय खाद्यान्न सामग्रीहरुबाट पर रहनु पर्ने, सम्भोगबाट अलग रहनु पर्ने र चार दिनमा स्नान गरेपछि मासिकधर्म दोष निवारण हुने कुरा शास्त्रमा वर्णित छ । नारी रजस्वलाले रक्त शुद्धि गराउने हुन्छ, र रजस्वलाको ४ दिन पछिको जोर रात्रिको सम्भोगले पुत्र र विजोर रात्रिले पुत्री पैदा हुन्छन्, यो क्रम १६ दिनसम्म मात्र जारी रहन्छ र सन्तानोत्पादनका लागि अर्को मासिक धर्म आबश्यक पर्छ । हिजोआज टेष्टटयूव बेवीका लागि यो नमिल्न सक्छ ।

स्त्रीहरुको रजोधर्म दोषको निवारणहेतु ऋषिपंचमीको व्रत र सप्तर्षिहरुको पूजा, कथा श्रवण गर्नु पर्ने हुन्छ । पूजा गर्नुअघि नदीमा गई विशेष स्नान गर्ने, वर्षभरिका अशुद्धिहरु हटाउन ३६५ वटा दतिवन लगाउने, पञ्चगव्यले स्नान गर्ने विधान छ । मन्दिर जान नसक्नेले घरमै पनि सामुहिक पूजा र कथा श्रवण गर्ने गर्छन् । नारीजातिमा प्रतिमास देखा पर्ने रजोधर्ममा ब्रह्महत्यादोष रहने र त्यसको निवृतिहेतु ऋषिहरुको दर्शन, पूजा गर्नु पर्ने हुन्छ । मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन, जनैपूर्णिमामा सप्तर्षि पूजा गर्छन् पुरुषहरुले र नारीहरुले तीजमा । नारीहरुको गलामा ब्रह्सूत्र हुन्न र त्यसको विकल्प भनेको तीजको सप्तर्षि पूजा नै हो । सप्तर्षिहरुको नाम कश्यप, अत्रि, भरद्धाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हो । कुशको यी मूर्तिहरु बनाएर बीचमा माता अरुन्धती राख्नु पर्छ, बालुवामा । माता अरुन्धतीले ब्रह्मसूत्र खोज्नु भएन र उहाँकै नाममा सौभाग्य अर्पण गरिन्छ, ऋषिपन्चमीको पूजा गर्दा । ऋषिपंचमी व्रतीले यसदिन एकछाक खाने, नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदिले हविष्यान्न भोजन गर्नु पर्छ । महिनावारी भएका वखत अन्जानमा भएका त्रुटिहरुको प्रायश्चित गर्ने एकमात्र सरल उपाय हो यो । यसले तेज वृद्धि हुने, दीर्घायु, निरोगीे र पूर्ण सौभाग्यवती गराउँछ ।

यसको कथा पनि सुन्नु पर्छ । भविष्यपुराण अन्तर्गत युधिष्ठिर श्रीकृष्ण सम्वाद यस्तो छ: सत्ययुगमा विदर्भ देशमा श्येनजित राजा थिए, उनी प्रजापालक थिए । उनका देशमा एक सुमित्र ब्राह्मण थिए, पत्नी थिइन् जयश्री, वेदवेदाँगका ज्ञाता थिए ती । कृषि कार्य गर्थे, घरमा अरु कोही नहुँदा गृहकर्म गरिन् उनकी पत्नीले, भाँडाकुँडा सबै छुनु पर्यो । पछि सन्तान र बिहेवारी पनि भएछ, दुबै दम्पतिको देहान्त भएछ, पूर्व जन्म, कर्मले गर्दा ती ब्राह्मण आफ्नै घरको गोरु भएर जन्म लिएछन्, पत्नी भने कुकुरको रुपमा । छोरा बुहारीले श्राद्ध कर्म गरे तर ती तरेनछन् । एक दिन पिताजीका श्राद्धका दिन आफ्नै बाबु गोरुलाई लिएर खेत जोत्न पुगे छोरा, घरकी बुहारी श्राद्ध सामान तयारी गर्न लागिन् । छोरा सुमती र बुहारी चन्द्रवतीले आफ्नै तिथिका दिन केही खाना नदिई राखेछन् । बाबु आमालाई आफ्नो जन्म र सन्तानका विषय ज्ञात थियो तर छोरा बुहारी अनभिज्ञ थिए ।

चन्द्रावती भान्छामा आफू नरहेको बेला श्राद्ध सामान तयार भएपछि पायसमा एक सर्पले विष हालिदिएछ । त्यो दृश्य ढोकामा बसेको कुकुरले देखेछ, अब विषाक्त खाना खाएर सबै मर्ने भए भन्दै भान्छा छोइदिएछ, त्यो दृश्य देखेकी चन्द्रावतीले कुकुरलाई ढाड खुस्कने गरी पिटिछन् र खाना सबै रछ्यानमा फालिछन् । पति घरमा आई श्राद्ध कर्म सकेको तर कुकुरलाई केही खाना नदिँदा भोकै परेछन् र पति जो गोठमा थिए, आफ्नो विलौना बताउन ककुर त्यहीँ पुगेछ । उनले पनि आफ्नी पत्नीलाई भनेछन् आज त छोरोले मुख बाँधेर जोत्यो, म पनि भोकै छु । त्यो सम्वाद सुनेछन् छोराले र तिनको उद्धार हेतु चारैतिर भौँतारिएछन् । ऋषि सामु पुगेपछि सबै वृतान्त बुझेका र भाद्र शुक्ल पन्चमीको व्रत गरेपछि तिनको उद्धार हुन्छ भन्ने उपदेश पाएछन् ।

धेरै वर्ष सम्म दम्पतीले मध्याह्नकालमा ऋषि पन्चमीको व्रत गर्दै कथा समेत सुनेपछि दुबैको देह छुटेछ, र दिव्यलोक फेरि जन्मन नपर्ने गरी पुगेछन् ती । पितृ उद्धारमा सन्ततिको बहुतै ठूलो भूमिका हुन्छ, हाम्रो धर्म यसैमा आधारित छ । यो कथा सुन्नाले मात्रै पनि हरेक पापबाट मुक्ति मिल्ने, धन धान्य, सुख, समृद्धि बढ्ने, दीर्घायु हुने, परिबारमा सन्तानका चरित्र रामो हुने शास्त्रीय कथन छ । वर्षमा एक दिन समय दिँदा खासै फरक पर्दैन, काम नभएर टिकटक र सामाजिक सन्जालमा व्यस्त हुनु भन्दा शास्त्र वार्तामा सरिक हुनु वेश हुन्छ, आखिर जीवन त क्षणभंगुर नै छ ।

र अन्तमा, पंक्तिकारले हरेक यस्ता चाड पर्वमा आफू र आफन्त अनि समाजलाई शास्त्रीय चर्चा गर्ने गरेको छ । यसैपालि पनि हरेकजसो प्रिन्ट मेडिया र रेडियो लगायत टि भि च्यानलहरुबाट यी यस्ता मौलिक खुराक पस्केको छ, जुन आदर्श र जुन मर्मले कुनै चाड, रीति, चलन, संस्कार, संस्कृतिको शुरु भयो त्यसको उपादेयता बुझ्न जरुरी छ । हाम्रा पूर्वज अग्रजले समय बरबाद गर्न मात्रै यस्ता कुरा ल्याएका होइनन् । रजस्वलामा एकछत्र मान्ने र धर्म परम्परालार्ई तोड्दा त्यसको नोक्सानी अरुलाई हुन्न आफैँलाई, आफन्तलाई हुने हो । विज्ञानले रक्त शुद्धि त होस् भन्छ नै र सृष्टि पनि यसैमा छ, रजोवती धर्म बिर्सने हो भने आमा बन्ने अधिकार नै नहुन सक्छ । तीजको शुभकामना सबै आमा, दिदी, बहिनीहरुलाई , हामी खटेर लागेको यहाँहरुकै लागि त हो, हाम्रो आफ्नो स्वार्थ नै के छ र ?