इतिहासकारको जोखाना मिलेकै हो त ?

प्रा. डा. तीर्थप्रसाद मिश्रले लेख्नु भएको “शासक कहिल्यै दण्डित नहुने : दोषी को ?” शीर्षकको लेख सान न्युजमा २०८२ जेठ २५ गते, आइतवार प्रकाशित गरिएको थियो। सान्दर्भिक लागेकाले आज पुनः प्रकाशित गरेका छौँ।— सम्पादक

बडाले जो गर्यो काम हुन्छ त्यो सर्व(सम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।
कवि शिरोमणि लेखनाथ पौडेलद्वारा रचित उल्लिखित कवितालाई आफ्ना स्वार्थअनुकूल परिभाषा गर्न सकिन्छ, गरे पनि हुन्छ र गरेका पनि छन्। नेपालको इतिहास हेर्दा शासकले जे गरे पनि रैतीले मान्नै पर्ने, सहनै पर्ने, बोले बात लागी डाँडो कटाइने आदि इत्यादिका अनेक दृष्टान्त छन्। शासकलाई जनताले दण्डित गरेको र सजाय दिएका कमै घटना छन्, एक शासकलाई अर्को देशको शासकले युद्धको मैदानमा पराजित गरी दण्ड दिएका घटनाहरू चाहिँ प्रशस्त छन्। यस्ता काण्डमा जनताको परोक्ष हात थियो होला तर प्रत्यक्ष कुनै भूमिका थिएन । जनताको सेवक हुँ भन्दै र जनताका लागि गरेको हुँ भन्दै जनतालाई नै दु:ख दिने हिजोको ऐतिहासिक परम्परालाई आजका शासकहरुले पनि आत्मसात गरेका छन् । इतिहासबाट अन्य कुरा शिक्षा नलिए तापनि यस मामलामा भने सबैले हिजोका शासकलाई सम्मान गरेकै छन् । यस विषयमा इतिहासले के भन्छ र आज के हुँदै छ सोही विषयमा चिन्तन गर्दाको उपज हो, यो सानो टिपोट।

लिच्छविकालका शासकहरू प्रजा हित समाधान तत्पर, कथं प्रजानां सुखिन भवेत् भनेर कहिले थाकेनन् तर जनता भने झारा करको बोझ, जाति र लिङ्गभेदबाट पीडित थिए । मध्यकालमा पनि शासकहरु नै सर्वेसर्वा थिए। राजाज्ञा पालना गर्नु नै जनताको कर्तव्य धर्म हो भन्ने दरबारिया भाटहरूको सङ्ख्या कम थिएन। रैतीको मर्म बुझ्ने कोही भएनन् । शासकहरूले अनेकौं ताण्डव नृत्य देखाउँदा पनि जनताले विष्णुको लीला भन्दै पचाउँदै गएका थिए । धेरै टाढाको कुरा नगरौँ । आधुनिक कालकालीन नेपालको इतिहासका शासकहरुबाट भएका जनता पीडित कार्यको केही घटनातर्फ लागौँ। पृथ्वीनारायण शाहपछि राजा भएका प्रतापसिंह शाहले जनताको अमनचयन भन्दा आफ्नै भोगविलासतर्फ ध्यान दिए । उनी अधिकांश समय तन्त्रमन्त्रतिर लागे उनका छोरा रणबहादुर शाहले गर्न हुने नहुने के के गरे गरे सोको लेखाजोखा गरी साध्य नै छैन । गद्दीको हकदार विवाहितातर्फको जेठो छोरा रणोदीप शाह हुँदाहुँदै कान्तिवतीपुत्र गीर्वाणलाई राजा बनाए। विफरको महामारी हुँदा बालक गीर्वाणलाई सर्न सक्छ भनेर दुधे बालकहरू सबैलाई आमासहित सहरबाट निष्कासन गरे ।

मठमन्दिरमा दिशापिसाब गरी देवीदेवताका मूर्तिमा फोहोर दले । साँढे पाल्ने सोखमा जनतालाई सास्ती दिए । यी सबै कार्यमा जनताले सहन नै गरे । प्रतिकार गरेनन् । प्रतिकार गर्न सक्ने क्षमता र आँट पनि कसैमा आउन सक्ने स्थिति नै थिएन । भोगविलास र स्त्रीलम्पट चरित्रमा त नेपालमा मात्र होइन बनारससम्म नै उनले उधुम मच्चाए । कालान्तरमा आफ्नै भाइ शेरबहादुरबाट उनले काटिनुपर्यो । रणबहादुर शाह दण्ड पाएर काटिएका होइनन्, पारिवारिक कलहका कारण मारिएका हुन् । यिनै रणबहादुर शाहका नाति राजा राजेन्द्रले पनि आफ्ना रानीहरूको वशमा परी भीमसेन थापा, माथवरसिंह थापा, गगन सिंहलगायतका अनेकौं भारदारहरूको हत्या गराए। उनैको कारण नेपालमा राणाशासन आएको हो । राजेन्द्रका छोरा सुरेन्द्रको चर्तिकला त वर्णन गरी साध्य छैन। उनका अमानवीय अमर्यादित र उच्छृङ्खल कार्यबाट जनताले सास्ती खेपेका थिए।

राजा सुरेन्द्रको राजनीतिक योग्यता नपुगेका कारण जङ्गबहादुर सर्वेसर्वा भई जहानिया राणाशासनको जग बसेको हो। जङ्गबहादुरले त आफ्ना विरोधी सखापै पारेर छाडे। कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता काण्डबाट पर्व मनाए। लखन थापा जस्ता अनेकौँ विरोधीलाई खतम गराए । यस्तै राणा श्री ३ हरूले जनतालाई दु:ख दिनसम्म दिए तर कोही पनि शासकहरु दण्डित भएनन्। रणोदीप सिंह मारिए आफ्नै कान्छा भाइको छोराहरूबाट । देवशमशेरलाई आफ्नै भाइ चन्द्रशमशेरले पदच्युत गरे। पद्मशमशेरलाई आफ्नै दाजुभाइले राजीनामा दिन बाध्य गराए । कालन्तरमा राणाले नै राणा शासन सिद्ध्याए । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर सबै श्रीसम्पत्ति लिएर मुग्लान पसे तर दण्डित भएनन्। विसं २००७ सालको परिवर्तनपश्चात् पनि शासकको मनोमानी चल्दै गयो । जनता मूकदर्शक नै भए । विसं २०१७ सालमा बिपी कोइरालालगायत धेरै दण्डित भए, जनताबाट होइन राजनीतिक स्वार्थका कारण राजा महेन्द्रबाटै। नेपालको इतिहासमा जनताबाटै दण्डित भएका एकमात्र शासक राजा ज्ञानेन्द्र नै भए। उनी त गए गए तर नेपालबाट राजतन्त्रलाई नै आफ्नो साथ लिएर गए। राजा राजेन्द्रको पदच्युति भयो तर उनकै छोरा सुरेन्द्र राजा भए। रणबहादुरले आफ्नै छोराका लागि राजगद्दी त्याग गरे। जनताको कारण र जनताको लागि उनले गद्दी त्याग गरेका थिएनन्। तसर्थ जनताबाट दण्डित भएका हालसम्म एकमात्र शासक ज्ञानेन्द्र नै भए । सायद यो एकुन्द्रो मेटिँदैन होला। हुन त यो विषय भविष्यले नै जान्ला।

विसं २०४६ सालपश्चात् नेपालको इतिहासमा नै पहिलोपटक जनता सार्वभौम भए । जनताका निर्वाचित व्यक्ति नेपालका वास्तविक शासन हुन पुगे । २०४६ सालदेखि हालसम्मका शासक प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाबाहेक सबैले राम्रा मात्र होइन नराम्रा पनि धेरै काम गरे। विसं २०४७ को निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत प्राप्त गरी प्रतिनिधिसभामा ठूलो दलको नेताको हैसियतले गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री भए। उनले आफ्नो पार्टीको बहुमत हुँदाहुँदै पनि संसद विघटन गराई मध्यावधि निर्वाचन गराए । मध्यावधि निर्वाचनमा कुनै पार्टीको बहुमत आएन । एमालेको अल्पमतको सरकार बन्यो । अब ससाना पार्टीको हैसियत चुलिन गयो । हिजो पानी बराबर भएका गालीगलौज गरेर नथाक्ने तिनै पार्टीका नेताहरु पञ्चपाटीहरुसँग साठगाठ गरे। विसं २०४६ सालको आन्दोलनको मर्म र मार्गदर्शन विपरीत ठूला पार्टीमा कार्यगत एकता नै भएन। सत्तामा टिकिरहन राष्ट्रका र जनताका स्वार्थ र चाहनालाई लात मारे। यही सत्ता प्राप्त गर्ने स्वार्थको लडाइँबाट माओवादी मौलाउन सफल भए । यथार्थमा भन्ने हो भने माओवादी आन्दोलनलाई मलजल गर्ने नै ठूला पार्टीहरू भए।

विसं २०४६ सालको आन्दोलनबाट नेपाली जनतामा आएको उत्साह र गरेका अपेक्षाहरू सम्बोधन गर्न कुनै राजनीतिक पार्टीहरू पूर्णतया सफल भएनन्। भने अर्कोतिर सत्ता लिप्सा र राजनीतिक स्वार्थसिद्धि गर्न अख्तियारले गरेका दृश्य अदृश्य नीति र कार्यबाट जनतामा नैराश्य छाउन थाल्यो । जनभावना बुझ्ने, राष्ट्रिय आवश्यकता र हितको चिन्ता गर्ने प्रवृत्ति मठाधीशमा देखिएन। यस्तै उस्तै आन्तरिक परिस्थिति र बाह्य अदृश्य शक्तिको पुठबाट माओवादी आन्दोलन मौलाउँदा देशमा ठूलो सङ्कट आइलाग्यो । आवधिक निर्वाचन हुन सकेन यस्तो स्थितिमा काकतालीले राजा हुन पुगेका ज्ञानेन्द्रको महत्त्वाकाङ्क्षा बढ्दा उनले महेन्द्रपथको नीति लिए। ज्ञानेन्द्रको यस कार्यबाट सबै राजनीतिक पार्टी एक ढिक्का भई सशक्त आन्दोलन गर्दा राजाले घुँडा टेक्न बाध्य हुनुपर्यो । संसद् पुन:स्थापित भयो । राजा ज्ञानेन्द्रको श्रीपेच मात्र खोसिएन नेपालबाटै राजतन्त्र समाप्त भयो। काँक्रो चोरलाई मुड्के सास्ती हुनुपर्नेमा राजाले ठूलै सजाय पाए । यो परिस्थिति निम्त्याउने राजनीतिक पार्टीका मठाधीशहरु भने पानी माथि ओभानो भए।

विसं २०६२-६३ को जनआन्दोलन ९यसलाई नेपालको दोस्रो जनआन्दोलन भन्ने गरिएको छ, जुन कदापि होइन । नेपालको आन्दोलनको इतिहासको मर्म विपरीतको उक्त भनाइ यदाकदा नेताबाटै आउनु सुपाच्य हुँदैन।० पश्चात् मुलुकले कोल्टे फेरेन । राजनीतिक स्थिरता आउन सकेन । राजनीतिक पार्टीले राष्ट्रिय आवश्यकता र स्वार्थलाई ओझेल पार्दै आफै स्थापित भई सत्तामा रहन अनेकौं प्रपञ्च गरे । ठूला पार्टीका नेताहरूमा ब्रह्मनाल नपुगेसम्म अक्षुण रूपमा नाइके हुने नीति लिए र लिँदैछन्। माओवादी पार्टीले पनि जुन चाहिँ जोगी आए पनि कानै चिरेको आहान चरितार्थ बनायो । २०४६ सालदेखि हालसम्म राजनीतिक पार्टीका मठाधीशहरुबाट विगतमा गरेका कार्यहरूको मूल्याङ्कन कहिल्यै भएन। सत्तामा हुँदा एउटा कुरा बाहिर पुगेपछि अर्को कुरा गर्दा पनि जनता मूकदर्शक नै भए। आजको परिस्थितिको कारण हिजोका दिन पो राम्रा थिए कि भन्नेको जमात बढ्न थालेको छ। राजा दण्डित हुने, अन्य पुरस्कृत भइरहने वर्तमान राजनीतिले भविष्यमा ठूलै अनिष्ट आउन सक्छ।

नेताहरूको गलत कार्यको ढाकछोप गर्दै तिनैलाई देवत्वकरण गर्ने नेपालीहरूको मानसिकतामा परिवर्तन आउनै पर्छ। गलत गर्ने शासकलाई दण्ड दिन अब नेपाली जनता अग्रसर हुनुपरेको छ। देशमा यस्तो स्थिति आउनुमा जनताहरूले पनि आफ्नो कार्यप्रति पश्चाताप गरी प्रायश्चित गर्नैपर्ने हुन्छ। पार्टी खराब होइन। नेता असक्षम हुन् भन्ने भाष्यलाई चरितार्थ गर्ने कार्य पनि जनताकै हो। देशलाई अधोगतितिर धकेल्ने नेताको परलोक सुधार्ने कुरै छैन । यसै लोकमा पनि दण्डित हुनैपर्ने हो । हेरौँ – भविष्यले के भन्छ ?