कोशीका पूर्वमुख्यमन्त्रीको अनशनको घोषणा

नेपाली कांग्रेस कोशी प्रदेशका सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध अनशन बस्ने घोषणा गरेपछि तरङ्ग सिर्जना भएको छ । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आइतबार स्मरणपत्र पठाउँदै आफ्ना माग ४८ घण्टाभित्र पूरा नभए विराटनगरस्थित प्रदेशसभा भवनको गेटअगाडि अनशन बस्ने घोषणा गरेका हुन् । उनले दश वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित नि:शुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने माग राखेका छन् ।

यस्तै शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

सङ्घ र प्रदेशका सत्ता सहयात्री दलका एक सांसदले प्रदेश सरकारविरुद्ध अनशन बस्ने घोषणाले दुई दलबिच शङ्काको वातावरण पैदा हुनसक्ने कतिपय बताउँछन् । यद्यपि नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी भने केदार कार्कीले अनशन गर्नुको कुनै औचित्य नभएको बताए ।

भदौ १४ गते प्रदेशसभा बैठकमा कांग्रेसको तर्फबाट विशेष समय लिएर बोल्दै केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र सरकारको कडा आलोचना गरेका थिए । त्यस विषयमा पनि कांग्रेस दलको बैठकमा गम्भीर छलफल भएको उपनेता हिमाल कार्कीले जानकारी दिए ।

उता पूर्वमुख्यमन्त्री कार्कीले भने आफ्नो नेतृत्वको सरकार विघटनपछि एमाले र माओवादी सहितको सरकार बनेको र उक्त सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा जनहितकारी एवम् समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको दाबी गरेका छन् ।

‘म प्रदेश सरकारले उपरोक्त कार्यक्रमलाई पुन: सञ्चालन गर्न ४८ घण्टाभित्र निर्णय गरोस् भनी यसै स्मरणपत्रमार्फत अल्टिमेटमका साथ आग्रह गर्दछु । यस अल्टिमेटमको बेवास्ता भएमा ४८ घण्टापछि विराटनगर महानगरपालिका देवकोटा चोकस्थित प्रदेशसभाको परिसरमा अनशन गर्ने निर्णयमा पुगेको स्मरण एवम् जानकारी गराउँदछु,’ मुख्यमन्त्री कार्कीलाई आइतबार पठाएको स्मरणपत्रमा उल्लेख छ ।