सोह्र दिनसम्म लगातार गरिने महालक्ष्मीको उपासना नेपाली घर आँगनमा यसै भाद्र २६ देखि आरम्भ भएको छ । भाद्र शुक्ल सप्तमीदेखि शुरु हुने यो समय आश्विन कृष्ण सप्तमी सम्म चल्नेछ र असौज ८ गते समापन हुँदैछ । विभिन्न सरसामग्री सहित निरन्तर मध्याह्नमा पूजा हुने यो पर्वमा लक्ष्मीलाई मन पर्ने विशेष दाखको खीर अर्पण गरिन्छ । लक्ष्मी लहरी लगायतले स्तुति वन्दना गर्दै बिनेका चामल, सग्लो र साविधानीपूर्वक तयार गरिएको भोजन एक छाक मात्र सेवन गर्ने विधान छ र भूमिशयन जरुरी हुन्छ, व्रतीका लागि । यस्तो व्रत लगातार १६ वर्षसम्म गर्नु पर्छ र पछिल्लो वर्ष समापन गर्दा विशेष शय्या सहित हवनादि कर्म, दम्पति पूजा र सक्नेले ठूलै विधानले यज्ञ आदि कर्म गर्ने चलन छ । १६ जना दम्पति सहित, श्रृंगार एव ब्राह्मण भोजन र विधिपूर्वक गरिएको कार्यले जीवनमा परम सत्य प्राप्त हुने र पुस्तौँ पुस्तासम्म धनको अभाव नहुने शास्त्रीय मान्यता छ र विधान पूर्वक व्रत बस्नेको जीवनमा ठूलो सुख र धन, ऐश्र्यको वृद्धि भएको र कुवेर दृष्टि सधैँ परेको स्वयं पंक्तिकारको अनुभव पनि छ ।
लक्ष्मीको चर्चा गर्दा यिनको स्वरुप बुभ्mनु पर्ने हुन्छ । यिनका मुख्य २ रुप छन् । एउटा हो भौतिकरुप, अर्को हो आध्यात्मिक वा दैवीस्वरुप । भौतिक रुपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन मात्र बन्न पुग्छिन् । दैवी र आध्यात्मिक रुपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन् । उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ । तर उपयोगको रुपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन् । धनको दुरुपयोग भनेको लक्ष्मीको दुरुपयोग हो र यिनले मानिसलाई उल्लू बनाउँछिन् पनि । संस्कृत शब्दमा उलुक भनेको लाटोकोसेरो हो र यसको बाहन भएकी लक्ष्मीको सेवाले सबैलाई उल्लू बनाउँछिन् । मदिरा, माँस, जुवा र तडकभडक उनलाई मन पर्दैन र जीवन धेरैको बर्बाद पनि भएको देखेका छौँ हामीले । धनको दुरुपयोगकै कारण गरिवी निवारण हेतु आह्वान भएको सहकारी एवं लघुवित्तबाट धेरैको ज्यान समेत जोखिममा रहेको सबैलाई विदित छ ।
जहांँ लक्ष्मीको सेवा हुन्छ त्यहांँ नारायणको सेवा हुनु जरुरी छ । नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ । धन केवल भोग साधना गर्ने बस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन् र मान्छेको मति बिगारिदिन्छिन् । मति बिग्रेपछि गति पनि ठीक हुन्न, दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र कान्ति दुबै पाउंदैन । नारायणको अर्को नाम यश र कीर्ति पनि हो । त्यसैले यश र कीर्ति प्राप्तिका लागि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्नदेऊ भनी नीतिकारहरुले भनेका छन् ।
लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ । उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन् । केवल पूजाले मात्र भन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटा घाटाहरु, मठ मन्दिरहरु, असहाय, दीनदु:खीको सेवामा लागेको धन पवित्र हुन्छ । आम्दानीको १० प्रतिशतमा आफ्नो नो हक, भोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नु पर्ने बिषयमा पूर्वीय चिन्तनले यत्रतत्र व्याख्या गरेको छ । आनन्द प्राप्तिको लागि लक्ष्मीको आध्यात्मिक एवं दैवीस्वरुपलाई बुझ्नु पर्ने हुन्छ ।
चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ । धनको सदुपयोग, पदार्थको सदुपयोग, तत्व ज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुने हुँंदा लक्ष्मीपूजा गर्ने साधकहरु सज्जन, शान्त, धीर, बीर हुन जरुरी छ । सन्त, साधुहरुको सेवामा पनि लक्ष्मी रहने कुरा शास्त्रहरुले पुष्टि गरेका छन् । भनिन्छ, लक्ष्मीका धेरै पाउ मध्ये एक पाउ उत्पादनमा, उब्जाउमा रहेको छ । पृथ्वी जसलाई धरा भनिन्छ, धराको प्राकृतिक स्रोत साधनमा लक्ष्मीको एक पाउ छ । लक्ष्मीको अर्को पाउ प्रकृतिको रसादि तत्वमा छ जसले शुद्ध तत्वलाई सिँंचन गरी पोषण दिन्छ । जलमा रहेकी लक्ष्मीलाई बिज्ञानले बिद्युतीकरण समेत गरेर हराभरा बनाएको छ । उद्योग, कलकारखाना र मानव जीवनदेखि यन्त्रसाधन समेत सजिलो बनेको छ । बृक्ष, बनस्पतिको हरियालीका लागि लटरम्म फलफूलको सिर्जनामा सहायकसिद्ध भएकी लक्ष्मीको अर्को पाउ तापशक्ति अग्निमा रहेको छ । वेदका मन्त्रले अग्निको स्तुति वन्दना गरेको छ । बाहिर देखिएको ताप शक्ति, सौर्य उर्जादेखि मानव हृदय भित्रको जठराग्नि समेतमा रहेर आफ्नै शक्तिद्धारा प्रदत्त पदार्थको पाचन गराउने कार्य जीवात्माको हृदयभित्र बसेर उनै लक्ष्मीले आफ्नो कार्य सन्चालन गरिरहेकी हुन्छिन् ।
लक्ष्मीको अर्को पाउ बसेको छ, सत्यमा, साधुका हृदयमा, सत्यवादितामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्यवोली, आचरण र तप, मनको शुद्धता र सात्विक आहार बिहारमा लक्ष्मीको पाउ अडेको हुन्छ । यसर्थ, तपस्वी, साधु, सन्त केवल भेषको कारण होइन, आचरण पबित्रतामा हुनु पर्ने र तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति, बुद्धिका साथै बिवेक, संयम, आत्मसंयमी आदि व्यक्तिमा यस्ती लक्ष्मीको निबासस्थान रहेको हुन्छ । महाभारत भीष्मपर्व, शान्तिपर्व र पद्मपुराण आदिमा लक्ष्मीको प्रसस्त चर्चा भएको पाइन्छ ।
स्वामी विवेकानन्द, आद्य गुरु शंकराचार्यहरु सबै लक्ष्मीका उपासक थिए, यद्यपि उनीहरुलाई ठूलो धन राशिको आवश्यकता थिएन । धन आबश्यक पर्दैमा यिनको साधना गर्ने भन्ने होइन, समाज सुधार र चरित्र शुद्धिका लागि पनि आबश्यक हुन्छ । आज हामीकहाँ धनको बाढी बगिरहँदा पनि कोही सन्तोषी छैन, विदेशीहरुले डलर धेरै खन्याए तर देश भीक्षार्थी नै छ, लक्ष्मीप्रति भएको अन्यायले गर्दा आज जनसमुहमा देशको सेवाभन्दा विदेश मोह बढेको छ र आपराधिक कर्महरु बढेका र स्वयंले आफैँ लाई जीवन समाप्त पारेका घटनाहरु पनि दिनपरदिन वढ्दैछ । धार्मिक अभियन्ता, लक्ष्मीका उपासक, समाजशास्त्री, मनोवेत्ताहरुका लागि एउटा चुनौती नै भएको छ, नेतृत्वले त यसलाई मनन गर्ने जाँगर नै देखाएको छैन ।


















