काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन् । छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।