तिहारपछि सरकारले स्थानीय तह उपनिर्वाचन गर्ने भएको छ । देशभरका स्थानीय तहमा रिक्त ३९ पदमा आगामी १६ मङ्सिरमा उपनिर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । जनप्रतिनिधिको रिक्तता हुँदा स्थानीय सरकारको कामकारबाही प्रभावित हुँदै आएको थियो । यसपछि सरकारले उपनिर्वाचन गरेर जनप्रतिनिधिको रिक्तता पूर्ति गर्न लागेको हो । ३० वैशाख २०७९ मा भएको निर्वाचनबाट निर्वाचित ३९ जना जनप्रतिनिधिको विभिन्न समयमा निधन भएपछि पद रिक्त भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले निर्वाचन प्रयोजनका लागि आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन हुने सानन्यूजलाई बताए ।
आयोगले पछिल्ला दिनमा कोही जनप्रतिनिधिको निधन भएको भए जानकारी दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयललाई पत्राचार गरिसकेको छ । अहिले रिक्त रहेका स्थानीय तहका पदको विवरण सङ्कलन भइरहेको पनि उनले बताए ।
आयोगले यसअघि नै उपनिर्वाचनका लागि मतदाता विवरण अद्यावधिक कार्य सुरु गरेको छ । त्यसका लागि नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको सापकोटाले बताए ।
आयोगका अनुसार उपनिर्वाचन गर्नुपर्ने एक मात्र नगरपालिका काठमाडौँको कीर्तिपुर हो । त्यहाँका मेयर राजकुमार नकर्मीको गत ११ साउनमा निधन भएको थियो ।
शुक्रबार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको बाग्लुङमा भएको सवारी दुर्घटनामा परी निधन भएको छ । उनको स्थानमा पनि उपनिर्वाचन हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको छ । गच्छदारको निधन गत ३ असारमा भएको थियो ।
दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । त्यहाँका अध्यक्ष लछुमन गुरुङको २७ माघ २०७९ मै निधन भएको थियो । उनले अध्यक्षको रुपमा करिब नौ महिना मात्रै कार्यभार सम्हाल्न पाए । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त पदमा पनि उपनिर्वाचन हुने भएको छ । तामाङको हृदयघातका कारण ३१ असार २०८० मा निधन भएको थियो ।
बाजुराको स्वमीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको ४ माघ २०८० मै निधन भयो । मिर्गौलामा क्यान्सर देखिएकी उनको निधनपछि स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो । यस्तै, यही ४ भदौमा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी ज्यान गयो । उनको निधनपछि रिक्त उपाध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको हो ।
१४ असोज २०८० मा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको थियो । दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सरबाट पीडित खनालको निधनपछि त्यहाँ पनि उपनिर्वाचन हुने भएको छ ।
कैलालीका जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको स्थानमा पनि उपचुनाव हुने भएको छ । उनको निधन २३ पुस २०७९ मै भएको हो ।
यसअघि नै मेयर, अध्यक्ष, उपाध्यक्षसँगै अन्य वडाध्यक्ष पदमा पनि चुनाव गर्न भनेर निर्वाचन आयोगले पनि सामान्य प्रशासन मन्त्रालयमा भदौ महिना अन्त्यसम्म रिक्त पदहरूको एकीकृत विवरण तयार गरेर पठाउन भनिसकेको छ ।
आयोगले उपनिर्वाचनका लागि कति बजेट लाग्छ, कति ठाउँ छन् भन्नेबारे अध्ययन गरिरहेको छ । मतपत्रबाहेक उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री व्यवस्थापनको काम पनि भइरहेको छ । यसअघि नै प्रयोग भएका र बाँकी रहेका निर्वाचन सामग्री उपनिर्वाचनमा प्रयोग गरिने पनि प्रवक्ता सापकोटाले बताए । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार १ वर्षभन्दा बढी पदावधि बाँकी रहेको जुनसुकै रिक्त पदमा प्रतिनिधि चयनका लागि निर्वाचन गराउनुपर्ने हुन्छ ।
उपनिर्वाचन हुने स्थान र पद
१. प्रमुख– कीर्तिपुर नगरपालिका, काठमाडौं
२. अध्यक्ष– ग्रामथान गाउँपालिका, मोरङ
३. अध्यक्ष– महाबुु गाउँपालिका, दैलेख
४. उपप्रमुख, नलगाड नगरपालिका, जाजरकोट
५. उपाध्यक्ष– गौरीशंकर गाउँपालिका, दोलखा
६. उपाध्यक्ष– स्वमीकार्तिक गाउँपालिका, बाजुरा
७. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
८. जिल्ला समन्वय समिति प्रमुख, ओखलढुंगा
९. जिल्ला समन्वय समिति प्रमुख, कैलाली
वडाध्यक्षहरू
१०. लालिगुुराँस नगरपालिका– ८, तेह्रथुम
११. कन्काई नगरपालिका–६, झापा
१२. गढी गाउँपालिका– सुनसरी
१३. मोलुङ गाउँपालिका–५, ओखलढुङ्गा
१४. त्रियुगा नगरपालिका– १२, उदयपुर
१५. बेलका नगरपालिका – ८ उदयपुर
१६. डाक्नेश्वरी नगरपालिका – ४, सप्तरी
१७. धनुषाधाम नगरपालिका– १, धनुषा
१८. रामगोपालपुर नगरपालिका– २, महोत्तरी
१९. इशनाथ नगरपालिका – ७, रौतहट
२०. राजपुर नगरपालिका – ४, रौतहट
२१. गढीमाई नगरपालिका – ८, रौतहट
२२. कीर्तिपुर नगरपालिका – १, काठमाडौं
२३. कीर्तिपुुर नगरपालिका – ४, काठमाडौं
२४. काठमाडौं महानगरपालिका – १६, काठमाडौं
२५. ककनी गाउँपालिका–२, नुुवाकोट
२६. हेटौंडा उपमहानगरपालिका– १२, मकवानपुर
२७. गोरखा नगरपालिका – ५, गोरखा
२८. मुसिकोट नगरपालिका– १, गुल्मी
२९. रुन्टिगढी गाउँपालिका – १, रोल्पा
३०. ठाकुरबाबा नगरपालिका–४, बर्दिया
३१. दुल्लु नगरपालिका –१३, दैलेख
३२. तिलागुफा नगरपालिका– ४, कालिकोट
३३. कुशे गाउँपालिका–७, जाजरकोट
३४. त्रिपुुरासुन्दरी नगरपालिका–५, डोल्पा
३५. सानोभेरी गाउँपालिका–७, रुकुम पश्चिम
३६. सुर्मा गाउँपालिका–४, बझाङ
३७. पूर्वचौकी गाउँपालिका–६, डोटी
३८. दुहु गाउँपालिका–५, दार्चुला
३९. भीमदत्त नगरपालिका–६, कञ्चनपुर


















