अनेरास्ववियू (क्रान्तिकारी) मुगुको सचिवमा समीर शाही

नेकपा (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) मुुगुको सचिवमा समीर शाही निर्विरोध निर्वाचित भएका छन् । उनी काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् ।
शाही यसअघि २०७७ सालमा प्रतिगमनविरुद्धको आन्दोलनको अग्रमोर्चामा खटिएका थिए । विद्यार्थीमाझ लोकप्रिय छवि भएका उनी विद्यार्थी हक हितको क्षेत्रमा अथक योद्धाका रूपमा स्थापित छन् ।

उनै शाही अनेरास्ववियु (क्रान्तिकारी) मुगुको सातौँ जिल्ला सम्मेलनबाट सचिवमा निर्विरोध निर्वाचित हुँदा अध्यक्षमा कविदत्त बुमी, उपाध्यक्षमा महेन्द्र विक, सहसचिवमा गणेश परियार र कोषाध्यक्षमा विमला शाही पनि निबिरोध निर्वाचित भए । समितिका अन्य सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका हुन् । समिति ३१ सदस्यीय गठन भएको छ ।

सम्मेलनमा जिल्लाका चारवटा स्थानीय तह, क्याम्पस र माविबाट छनोट भएर आएका प्रतिनिधिहरूको सभागिता थियो ।
सम्मेलनको क्रममा जिल्लाको शैक्षिक समस्या, भ्रष्टाचार, विकृति र विसङ्गतिविरुद्ध आन्दोलन र अभियान सञ्चालन गर्ने निर्णय भएको छ । विद्यार्थीको अतिरिक्त क्षमता विकासका लागि विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम गर्ने, जिल्लाको सबै मावि र क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी गठन/पुनर्गठन गर्ने लगायत निर्णय भएको सचिव शाहीले सानन्यूूलाई जानकारी दिए ।

सम्मेलनमा प्रमुख अतिथी सङ्गठनका केन्द्रीय सचिव नवराज कार्की, विशेष अतिथी माओवादी नेता तथा खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाही र अतिथी भरतबहादुर शाहीलगायत थिए ।