रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि: शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले यस्तो कुरा बताएका हुन् । उनले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे ।

उनले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमााणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएको धन्यवाद दिए ।

उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको बताए । ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई । जिल्लामा राम्रो संगठन बिस्तार गरौँ । झगडा नगरौँ, मिलाउनेतिर लागौँ’, उनले भने ।

सभापति देउवाले पार्टीको संगठन बिस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरुलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिए।