बलियो र सुदृढ संघीय सरकार बनाउनु पर्छ – स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन् ।

उपसभापति वाग्लेले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बीचमा अन्यौलता सिर्जना भइरहेको बताए । उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए ।

उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए । प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए । प्रदेश सभालाई गाउँपालिकाका सदस्यहरु रहेको विधायकी थलो बनाउनुपर्ने उनको भनाई छ । उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरुको बनाउनुपर्ने बताए ।

उपसभापति वाग्लेले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेका बताए ।