नेपालमा पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको पाईएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्यांकमा यस्तो देखिएको हो । तथ्याङ अनुसार आर्थिक वर्ष २०७९/०८० मा ९३ हजार ४ सय ६३ जनाले सुरक्षित गर्भपतन गराएको पाएको छ ।
२०५९ सालमा नेपालमा सुरक्षित गर्भपतनको सेवालाई कानुनी मान्यता दिइएको थियो । सामान्यतया ८ हप्तासम्मको गर्भ औषधीको सेवन गराई पतन गराउने गरिन्छ भने त्यसपछि १२ सातासम्मको गर्भपतन औजारको प्रयोग गरेर गरिन्छ ।
यति मात्र नभए÷ सामान्य अवस्थामा महिलाले सन्तान जन्माउन नचाहेमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ । त्यसबाहेक पनि महिलामा गम्भीर स्वास्थ्य समस्या देखिएमा साथै भ्रुणमा समस्या देखिएमा र गर्भपतन नगराएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएमा डाक्टरको सिफारिसमा जुनसुकै समयमा पनि गर्भपतन गराउन सकिने कानुनी व्यवस्था रहेको छ ।
२०७९/०८० मा ९३ हजार ४ सय ६३ जनाले सुरक्षित गर्भपतन गराएको पाएको छ । जसमध्ये ६६ हजार ९ सय १७ जनाले औषधीको प्रयोग गरेर गर्भपतन गराएका थिए । २६ हजार ५ सय ४६ जनाले सर्जिकल माध्यमबाट गर्भपतन गराएका थिए, भने सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका तथ्यांकले देखाएको छ । गत वर्षभन्दा यो वर्ष ८ हजारभन्दा बढीले गर्भपतन गराएको छ ।यसमध्ये औषधिबाट गर्भपतन गराउनेको संख्या ७५ हजार ९७८ जना रहेका छन् । २० वर्ष मुनिका ४ हजार ६२८ जनाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ७१ हजार ३५० जनाले गर्भपतन गराएको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औजारद्वारा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या २९ हजार १२० जना छन् । यसमध्ये २० वर्ष मुनिका २ हजार २७३ जना र २० वर्षमाथिका २६ हजार ८४७ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको मन्त्रालयले जनाएको छ । गत वर्षभन्दा यो वर्ष ८ हजारभन्दा बढीले गर्भपतन गराएको छ ।


















