नेपालीहरुका आँखामा आँसु रसाउँदै विगतझै यसपालि पनि बडादसैँ बडो जबर्जस्त ढंगले आइसकेको छ, यथातथा नवरात्रिमा शक्तिपीठहरुको दर्शन हाम्रो इच्छा हुन्छ नै । यहाँ केही पीठहरुको चर्चा गर्ने प्रयास गरिएको छ ।
वत्सलेश्वरीदेवी
आर्यघाट र भष्मेश्वर ज्योतिर्लिङ्गका बीचमा वत्सलेश्वरीदेवीको मन्दिर छ । सिद्धकालीदेवीको नामले चिनिने यी देवीको अर्को नाम उमा नै हो । पशुपतिनाथ मन्दिरपरिसरमै रहेर शिवकै सामु बस्ने इच्छा व्यक्त गरेकी उमालाई शिवजीले मेरो समीप दक्षिणपट्टि वाग्मती किनारमा बस भनेपछि शिवको प्रेमिकाको रूपमा वत्सलेश्वरीदेवी यहाँ रहन लागेकी हुन् । वत्सलादेवीको पूजा आराधना गरेपछि मात्र पशुपतिनाथको दर्शन मिल्ने कुरा नेपालमाहात्म्य, हिमवत्खण्ड स्कन्दपुराणमा उल्लेख छ । जीवात्माले सिद्धि प्राप्त गर्न वत्सलादेवीको उपासना गर्नु पर्ने हुन्छ । पापबाट मुक्ति, संकटबाट टाढा र निरोगी बन्न पनि यिनको अनुष्ठान गर्नुपर्ने हुन्छ । शक्तिसञ्चय गर्न शक्ति साधना गर्ने क्रममा यी देवीलाई विशेष चिन्तन गरिन्छ ।
ब्यक्तिको मनमा भय, क्रोध, हिंसा, अशान्ति दूर गर्न र सम्पूर्ण जगतभरि शान्तिको सन्देश फैलाउन पनि यी देवीको उपासना गरिन्छ । वत्सलेश्वरीदेवीको उपासना खास गरी नवरात्रिमा गरिन्छ । आश्विनशुक्लपक्ष घटस्थापनादेखि चतुर्दशीसम्म नित्य आराधना गरिने यसक्षेत्रमा चैत्रको द्धादशी तिथिमा विशेष पूजा र वैशाखकृष्ण चतुर्दशीका दिनमा “दमनारोहण” – पूजा गरिन्छ । चैत्रआँैसीकादिन काठमाडौँको नक्सालमा रहेकी नक्सालभगवतीलाई यहाँ ल्याएर ढोग गराइन्छ । नक्सालभगवती र वत्सलेश्वर दिदीवहिनी हुन् भन्ने विश्वास छ । चैत्रऔँसीमा चावहिलक्षेत्रमा विशेष जात्रा–पर्व हुने गर्छ । चाबहिल चन्द्रविनायक वत्सलाका पुत्र हुन् भन्ने मान्यताअनुसार वत्सलादेवीलाई खटमा राखी चाबहिल ल्याएर पुत्रसँग भेट गराउने परम्परा रहेको छ । मल्लकालमा जयप्रकाश मल्लले आरम्भ गराएअनुसार यहाँ गुठी प्रवन्ध मिलाइएको छ ।
वत्सलेश्वरीमन्दिरको चार ढोकाको तोरणको बीचमा १८ हातयुक्त महिषासुरमर्दिनीको आकृति छ । चार ढोका भएर पनि ढोकामा खापा नहुनु मन्दिरको अर्काे विशेषता हो । पीठहरू प्राय: खुल्ला हुने गर्नाले वत्सलेश्वरीलाई पीठको रूपमा हेरिनाले यसो भएको हो । मन्दिरभित्र कुनै मूर्ति विशेष छैन । यहाँ यन्त्राकार मण्डल छ । सम्पूर्ण पूजाआजा वत्सलेश्वरीको नाममा यही मण्डलमा हुन्छ । मण्डलको मुनि भैरवलाई आवाहन गरी पूजा गरिन्छ । वत्सलेश्वरीलाई सिद्धिलक्ष्मीका रूपमा पूजाअर्चना गर्ने गरिन्छ ।
यो मन्दिरको निर्माणबारे खासै कुनै शिलालेख पाइँदैन । भाषावंशावलीका अनुसार धर्मदत्तनामक राजाले वत्सलेश्वरीमा जात्रा र पूजा गर्ने चलन चलाएको उल्लेख छ । भूमिगुप्त पछि धर्मदत्तको नाम इतिहासमा आउँछ । वि.सं. ४४५ उल्लेख भएकाले मानदेवका बाबु धर्मदेव यिनै हुनसक्ने विश्वास गर्न सकिन्छ । मानदेव प्रथमको पहिलो शिलालेखमा केवल ६७ वर्षको अन्तर हुनाले भाषावंशावलीको यो कुरामा सहमतिको नजीक पुग्न प्रेरणा मिल्छ । देवमालावंशावलीले वत्सलेश्वरीलाई आदिपीठ मानेको छ । मध्यकालमा विभिन्न गुठीमध्ये जयप्रकाश मल्लले ‘सिन्दुरगुठी’ चलाएका हुन् । वत्सलेश्वरीयात्राको क्रममा गरिने “छाहायेकु” कार्यको लागि श्री ५ रणबहादुर शाहले सुनले मोरेको अर्नाको सिङ् वि.सं. १८५२ चैत्रकृष्णदशमीका दिन बुधवार अर्पण गरेका थिए । अहिलेसम्म पनि वर्षको एकपटक “छाहायेकु” गर्दा त्यही सिङ्को प्रयोग हुन्छ । वत्सलेश्वरीमन्दिरको पूजाअर्चना जयवागेश्वरीमन्दिरको पूजाअर्चना गर्ने पालो परेका पुजारीहरूबाटै हुने गर्छ ।
राजराजेश्वरीदेवी
पशुपतिक्षेत्रमा अनेकौँ शक्तिपीठहरू रहेका छन् । यसक्षेत्रमा रहेका देवीहरूमध्ये राजराजेश्वरीदेवी पनि एक हुन् । पशुपतिनाथ मन्दिरदेखि केही दक्षिण चक्रपथदेखि उत्तर वागमतीतटमा यो मन्दिर रहेको छ । देवपत्तनमा हुने अनेकौँ जात्राहरूसँग सम्वन्धित यस मन्दिरमा अघिपछि भक्तहरूको खासै भीड लाग्दैन । पशुपतिनाथमा लाग्ने पूर्णिमाको महाभोगका दिन यहाँ पनि पूजा पठाउने चलन छ । राजराजेश्वरीमन्दिर भुइँतले, चारपाखे छानो शैलीको छ । उत्तर फर्केको यस मन्दिरको ढोका एवं छानाहरूमा सुनको मोलम्बा लगाइएको छ । तान्त्रिकसाधनाकी देवीको रूपमा चिनिने यी देवीको मन्दिरभित्र पूर्णकदका नवदुर्गाका मूर्तिहरू छन् । नवदुर्गाको विग्रहअगाडि भुइँमा “श्रीविद्यामहात्रिपुरासुन्दरी ” को यन्त्र रहेको छ । यही यन्त्रमा विशेष पूजा हुने गर्छ । नवदुर्गाको नामले परिचित यो मन्दिर खासरूपमा राजराजेश्वरीको हो । यो मन्दिरको स्थापना वि.स. १४६४ मा जयधर्म मल्ल र जयज्योति मल्लको पालामा भएको हो । काठमाडौंँका राजा रत्न मल्ल (वि.स. १५४१–१५७७) ले नुवाकोटका ठकुरीहरूलाई हराएको खुसियालीमा राजराजेश्वरीमा चित्रकारी कार्य गराएको कुरा भाषावंशावलीमा उल्लेख छ । हालसम्म पनि यी नवदुर्गाको मूर्तिमा १२/१२ वर्षमा चित्रकारी कार्य गरिन्छ ।
राजराजेश्वरीमन्दिरको कारण यो क्षेत्रलाई राजराजेश्वरीघाट भनिन्छ । राजराजेश्वरीमन्दिरलाई आकर्षक बनाउने कार्य जङ्गबहादुरका पुत्र जितजङ्गले गरेका हुन् । उनले जितजङ्गप्र्रकाशेश्वर शिवालय यस मन्दिरप्राङ्गणमा निर्माण गर्न लगाई राजराजेश्वरीमन्दिरलाई सजाउने काम गरेकाछन् । उनकै प्रयासमा मन्दिरमा सुनको ढोका, झ्याल एवं तोरणहरू हालेको बुझिन्छ ।
वनकालीदेवी
पशुपतिक्षेत्रको दक्षिणतर्फ गौशालादेखि पूर्वपट्टि वनकालीमन्दिर रहेको छ । वनकालीदेवी कुनै मन्दिरभित्र नभई खुल्ला मन्दिरमा रहेकी छिन् । वनकालीको पादपीठमा लिच्छविलिपि अङ्कित भएकाले यसको निर्माण लिच्छिविकालमा भएको अनुमान गर्न सकिन्छ । लिपिको शैलीले विक्रमको साताँै शताव्दीतिर यो बनेको अनुमान लाग्छ । यसरी यसको प्राचीनता लिच्छविकाल भए पनि श्री ५ रणबहादुर शाह पूर्वका अभिलेख केही पाइएको छैन । श्री ५ रणबहादुरले वि.स. १८५४ मा वनकालीकोलागि गुठीको व्यवस्था गरिदिएको पाइन्छ । वनकालीको मूर्ति दक्षिणाभिमुख छ । दक्षिणपट्टि प्राङ्गण एवं सत्तल तथा बगैँचा छ । अक्षयतृतीया श्रावणकृष्णचतुर्दशी, आश्विनशुक्लनवमीका दिन यस मन्दिरमा विशेष पर्वपूजा हुने गर्छ । वनकालीमन्दिर प्रसिद्ध भएर पनि यस बारे चर्चा कम भएको पाइन्छ ।
भूवनेश्वरीदेवी
देवपतनक्षेत्रमा पशुपतिक्षेत्रअन्तर्गत रहेका शक्तिपीठहरूमध्ये भूवनेश्वरी एक प्रसिद्ध शक्तिपीठ हो । यिनलाई दशमहाविद्यामध्येकी एक शक्तिशाली देवीको रूपमा चिनिन्छ । अत्यन्त आकर्षक भूवनेश्वरीमन्दिर उत्तराभिमुख छ । यस मन्दिरको गर्भगृहभित्र भूवनेश्वरीदेवीको कुनै मानव आकार मूर्ति नभई प्रतीकात्मक यन्त्रमात्र छ । कर्माचार्य पुजारी बाहेक अन्य व्यक्तिहरू भित्र जान पाउँदैनन् । भाषावंशावलीअनुसार शिवदेवले यो मन्दिर निर्माण गराएका हुन् । वर्तमानको मन्दिर स्वरूपमा पछिपछि धेरै पटक जीर्णोद्धार हुँदै आएको छ । देवमालावंशावलीका अनुसार यो मन्दिरको जीर्णाेद्धार नरेन्द्र मल्ल वि.संं. (१५८६–१६१२) ले गराएका हुन् । त्यतिबेलाका पूजारी भूमि आचार्य थिए । ती पुजारीसँग सरसल्लाह गरी राजा नरेन्द्र मल्लले तान्त्रिक विधिले ९ प्रकारका रथहरू बनाए । कुमारकुमारी ९ जनालाई रथमा चढाए । ईशानेश्वर प्रदक्षिणा गराई यात्रा गर्ने परिपाटि पनि बसाले । यो यात्राको चलन अद्यापि छ । ‘त्रिशूलयात्रा’ भनिने यो यात्रा प्रत्येक वर्ष आषाढकृष्णअष्टमीका दिन गरिन्छ । देवमालावंशावलीमा यो यात्राको प्रारम्भ समय वि.सं. १५७१ बताइएको छ । पछि यो मन्दिरको जीर्णाेद्धार काठमाडाँैंका मल्ल राजा शिवसिँंह मल्लकी रानी गङ्गारानीले गर्न लगाइन् । यिनी धर्म, संस्कृतिप्रति बडो अभिरुचि राख्थिन् । गङ्गारानी पछि यो मन्दिरको जीर्णाेद्धार नृपेन्द्र मल्लले गरेको चर्चा वंशावलीले गरेको छ । हाल देखिने मन्दिरको स्वरूपचाहिँ वि.सं. २०४२–४३ सालमा नेपाली सेनाले गरेको हो ।
मन्दिरपरिसरमा रहेको ढुङ्गेधारालाई ‘ज्ञानवापि’ भनिन्छ । मन्दिरपरिसरमा चतुर्मुखी प्राचीन शिवलिङ्ग साथै अरु प्रस्तरमूर्तिहरू धेरै छन् । भूवनेश्वरीमन्दिरपरिसरमा विभिन्न तिथिमितिमा पर्व–पूजा, मेला हुने गर्छ । वैशाखमा ‘दमनारोहण’, ज्येष्ठमा मृगस्थलीमा ‘देवाली पूजा’, आषाढमा ‘त्रिशूलयात्रा’, श्रावणमा ‘घण्टाकर्णलाई भोज खुवाउने’, असोजमा ‘नवरात्रिपूजा’, कात्तिकमा ‘लक्ष्मीपूजा’, चैत्रमा ‘दुदु च्याँ च्याँ’ आदि मुख्य छन् । पशुपतिनाथमा प्रत्येक पूर्णिमामा हुने महास्नान, महाभोगका बेला यो मन्दिरमा विशेष पूजा छुट्याउनु पर्ने परम्परा रहेको छ ।


















