अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छ: अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् ।
सरकारका काम-कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनअपेक्षाअनुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएका हुन् । पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर उनीहरूका समस्या र मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने बताए । आगामी स्थानीय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तारको विशेष योजना अघि सारेको छ ।

घिसिङकाअनुसार पार्टीले प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थिति मजबुत बनाउन ‘उज्यालो अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ । संगठनलाई जरादेखि नै बलियो बनाउँदै आगामी निर्वाचनमार्फत आफ्नो सरकार स्थापित गर्ने लक्ष्य पार्टीले लिएको छ । युवा वर्गलाई लक्षित गर्दै पार्टीले रोजगारी सिर्जना र लगानीका क्षेत्रमा नयाँ योजनाहरू ल्याउने प्रतिवद्धता जनाएको छ । युवाहरूलाई देशको अर्थतन्त्र र लगानी प्रवद्र्धनमा कसरी आवद्ध गराउन सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको उनले जानकारी दिए । उनले भने,‘सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौँ । त्यसको प्रतिवाद गर्छौँ । उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताका मुद्दा र समस्याहरू बोकेर अगाडि बढ्छ । नेपालको एक सशक्त राजनीतिक शक्तिका रूपमा हामी आफूलाई स्थापित गर्दैछौँ । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन । नयाँको विकल्प नयाँ नै हुन्छ र त्यो भनेको उज्यालो नेपाल पार्टी हो ।

तसर्थ, आगामी स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनहरूमा हामी जरा गाड्दै छौँ । हरेक गाउँपालिका, वडा र प्रदेशसम्म उज्यालो नेपाल पार्टीलाई विस्तार गर्दै आफ्नो सरकार स्थापना गर्ने लक्ष्यका साथ स्पष्ट कार्ययोजना र कार्यक्रम लिएर अगाडि बढिरहेका छौँ । हरेक गाउँपालिकामा हामी संगठन विस्तार गर्दैछौँ। साथै, ‘उज्यालो अभियान’ नामक राष्ट्रिय अभियानमार्फत हरेक क्षेत्रमा सक्रिय रूपमा लागिरहेका छौँ । देशमा रोजगारी सिर्जना गर्ने, युवाहरूलाई रोजगारका अवसर उपलब्ध गराउने तथा उनीहरूलाई लगानी र उद्यमशीलतामा आवद्ध गराउने उद्देश्यका साथ हामी विभिन्न योजना निर्माण गरेर अगाडि बढ्ने चरणमा छौँ । हामी सरकार बाहिर बसेर पनि धेरै कुरा गर्न सक्छौँ। सरकारमा नभए पनि उज्यालो नेपाल पार्टीले देशको अर्थतन्त्र सुदृढ बनाउन, समाज रूपान्तरण गर्न तथा विकासका विभिन्न क्षेत्रमा योगदान दिन सक्छ भन्ने विश्वासका साथ हामी निरन्तर लागिरहेका छौँ ।’

मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सत्तामा पुग्नु अनिवार्य नरहेको तर्क गर्दै घिसिङले सरकार बाहिर रहेर पनि आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताए । जनतामा व्याप्त निराशालाई चिर्दै देशको समृद्धिका लागि पार्टीले आफ्ना कार्ययोजनासहित सक्रियता बढाउने उनको भनाइ छ ।