काठमाडौँ । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट सहज तरिकाले नपाउदा जनताले सास्ती खेप्नु परेको छ । सहज तरिकाले टिकट नपाउँदा कतिपय नागरिकहरु काठमाडौंमै बस्नु पर्ने बाध्यता भएको हो ।
दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन्।
दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।
बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरू दसैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौँ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताए ।
उनले भने, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ”, दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।
यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौँबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताए ।
दशैं मनाउन आफ्नो गृह जिल्ला जाने तयारीमा रहेकी अञ्जली आले दिनहुँ पिलेनको टिकट पाउछ कि भनेर एरपोर्ट धाए पनि टिकट पाउन नसकेको गुनासो गरिन । अन्य समय ५,६ हजारमा लैजाने पिलेनले चाडबाडको बेला जहिले पनि डब्बल तेब्बर भाँडा बढाएर जनतालाई सास्ती दिएको भन्दै तत्काल भाँडा घटाउन सरकारको ध्यानाकर्षण हुनु पर्ने बताइन ।


















