विजया दशमीको अवसरमा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन आग्रह गरेका छन्।

२०८१ सालको विजया दशमीको अवसरमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुहुँदै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग होस्टेमा हैसे मिलाउन सबैलाई आह्वान पनि गरे । उनले जो जहाँ रहेपनि पीडामा परेकाहरूको पीडा हरण गर्न सहयोगी हातहरू बढाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विपद्ले थलिएको समयमा यसपालिको दशैँ टीका उल्लासपूर्ण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनका साथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन, दशैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त ज्येष्ठ नागरिकहरूले जीवन गुमाउनुपरयो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।’

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको बताउँदै आश्वस्त रहन पनि आग्रह गरे । उनले भने, ‘प्रकोपले किसानको अन्नबाली नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउँछौँ । भत्किएका घरहरू पुनर्निर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दशैं मनाउन र मिल्नेहरूले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।’