काठमाडौं । बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
टीका कता फर्किएर लगाउँदा शुभ हुन्छ ? परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतया? पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो ।
दक्षिणतिर पितृ कर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रूपमा जाने चलन छैन ।
टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

















