काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारे ।
आइतबार काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले गल्ती गर्नेहरूलाई सम्र्झाइबुझाई काम गर्न निर्देश गरे । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । मैले यो आग्रह गरेँ । अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न । अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानुनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ । छानबिन हुन्छ । हेर्नुपर्ने निकायहरूले हेर्दछन् । त्यसलाई गलत काम गर्ने मानिसले पनि त्यही ढंगले हेर्नुपर्दछ ।’
गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताए ।


















