वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताएको छ ।
कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उनले नेपालले वन पुनःस्थापना, बाघको सङ्ख्या तेब्बर र सङ्कटापन्न धेरै जीवजन्तुको संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गराए।
‘दिगो वित्त, वित्तीय प्रणाली सुधार र जैविक विविधताप्रतिको विश्वव्यापी जिम्मेवारी’ विषयक सत्रलाई सम्बोधन गर्दै मन्त्री शाहीले भने, “नेपालले पृथ्वीको केवल ०.१ प्रतिशत क्षेत्र समेटेको भए पनि नेपाल विश्वको २.७ प्रतिशत जैविक विविधताको घर हो । जसले यसलाई जैविक विविधतामा ४९औँ स्थानमा राख्छ । यी उपलब्धिहरू विशेष गरी महिला, आदिवासी जनजाति र स्थानीय समुदायको सहकार्यको परिणाम हुन्, उनीहरुको योगदान र बेहोरेको लागतलाई कम आकलन गर्नुहुँदैन ।”
समुदाय–आधारित संरक्षण दृष्टिकोणमार्फत, नेपालले जैविक विविधता संरक्षणको लागि प्रतिवर्ष १५२ मिलियन अमेरिकी जुटाएको जानकारी दिए। “तर, यो हाम्रो जैविक विविधता दृष्टिकोणको उद्देश्य प्राप्त गर्न पर्याप्त छैन । हामी प्रतिवर्ष ८० मिलियन अमेरिकी डलरको वित्तीय अभावको सामना गरिरहेका छौँ । यो अभाव मेट्न हामी विभिन्न दिगो वित्तीय संयन्त्रहरू कार्यान्वयन गरिरहेका छौँ, मन्त्री शाहीले उल्लेख गरे।
सन् २०२५ सम्म जैविक विविधता संरक्षणका लागि प्रतिवर्ष २० अर्ब अमेरिकी डलर उपलब्ध गराउने विश्व समुदायको प्रतिबद्धताको प्रशंसा गर्दै उनले त्यो प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिए। साथै उनले जैविक विविधता संरक्षणका योजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताए।
राष्ट्रसङ्घीय उक्त सम्मेलनमा सहभागी एक सय ९० देशका प्रतिनिधिले जैविक विविधता संरक्षणसम्बन्धी अभिसन्धिमा हस्तारक्षर गरेका थिए । हरेक दुई वर्षमा यो सम्मेलन हुँदै आएको छ ।



















