विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई प्रधानमन्त्री ओलीको सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप–२०२४ का पदक विजेता नेपाली खेलाडीलाई सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाएका छन्।

नेपाल शाररीक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान हुने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत थिए ।