प्रहरी हिरासतलाई पनि बोलिचालीमा ‘मामाघर’ भन्ने गरिन्छ । खासमा मामाघर आमाको माइतीघर हो । यद्यपि, कुनै कसुरमा पक्राउ परेर कोही आरोपी प्रहरी हिरासतमा पुगेको अवस्थामा मामाघर पुग्यो भन्ने चलन छ । मङ्गलबार विवादित मेडिकल व्यवसायी साइबर अपराधसम्बन्धी कसुरमा दुर्गा प्रसाईं पक्राउ परे । उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को हिरासतमा छन् । यसपछि एमाले सांसद सूर्य थापाले फेसबुकमा लेखेका छन्, ‘पटके अपराधीको मामाघर यात्रा…।’
आमाको माइतीघरमा भान्जाभान्जीलाई मिठोमसिनो खाना दिने गरिन्छ । मामामाइजूबाट माया, ममता र स्नेह प्रकट हुन्छ । चाडबाडमा त आर्शीवाद दिने गरिन्छ । तर, दुर्गा प्रसाईं मङ्गलबार पुगेको मामाघर अर्थात् प्रहरी हिसासतमा त्यस्तो हुँदैन । केवल त्यहाँ आरोपीविरुद्ध जुन कसुर छ, त्यसमा सोधिखोजी गरिन्छ । साँचो बयान दिन मानसिक र शारिरीक यातनासमेत दिने गरेको भुक्तभोगीहरू बताउँछन् ।
प्रसाईं प्रहरी हिरासत पुगेको दोस्रोपटक हो । यसपटक उनी हिरासत पुग्नुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम स्मार्ट एजियाटामा नेपाली साढे ३२ अर्ब रुपैयाँ शेयर रहेको भन्ने कथित तथ्य र प्रमाण सार्वजनिक गर्नुले हो । उनले सामाजिक सञ्जाल फेसबुकबाट समेत प्रत्यक्ष प्रसारण गरेर पनि सार्वजनिक गरेका थिए । यसलाई एमालेले भ्रामक दुष्प्रचार भन्यो । अन्तत: एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा प्रसाईं भक्तपुरको निकोसेरास्थित घरबाटै पक्राउ परे । उनले साइबर अपराध गरेको सिआईबीले जनाएको छ ।
पटकपटक उही आरोपमा पक्राउ परेका कारण अब प्रसाईंमाथि पटके अपराधमा अनुसन्धान अगाडि बढाउने सिआईबीको तयारी छ ।
सिआईबी प्रवक्ता होबिन्द्र बोगटीले सानन्यूजसँग भने, ‘एकपटक पक्राउ परेर अनुसन्धान भएपछि सधैँभरि उही अपराध गर्छु भन्न त पाइएन । अपराध गरिसकेपछि त अब पटके अपराधमा पक्राउ गरेर कारबाही अगाडि बढ्ने भयो ।’ ओलीले कम्बोडियाको स्मार्ट एजियाटामा लगानी गरेको भन्ने दुर्गा प्रसाईंको भनाइ र त्यससम्बन्धी सार्वजनिक कथित प्रमाणलाई भ्रामक समाचार सम्प्रेषण गरेर सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पर्ने गरी घृणा र द्वेष फैलाउने काम गरेको सिआईबीको दाबी छ । त्यही भएर प्रथम दृष्टिमै प्रसाईंले गरेको कार्य साइबर अपराध भन्ने प्रहरी निष्कर्ष छ ।
दुई महिनाअघि पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको साइबर अपराधसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा प्रसाईं पक्राउ परेका थिए । त्यसबेला उनी धरौटीमा रिहा भएका थिए । मुद्दाको टुङ्गो भने लागेको छैन । यहीबेला सोही कसुरमा प्रसाईं पक्राउ परेका हुन् । एउटै अपराधमा एक पटकभन्दा बढी पक्राउ परेपछि प्रहरीले पटके अनुसन्धान अन्तर्गत सजायको माग गर्ने तयारी छ ।
पटके अपराधमा हुने अनुसन्धानलाई गम्भीर रूपमा लिने गरिन्छ । अदालतले समेत गम्भीर रूपमा नै लिने गर्छ । पटके अपराध कायम गर्दा डेढी सजायको माग हुन्छ । तर, त्यसका लागि पहिले गरेको अपराध ठहरिनुपर्छ । प्रसाईं दोषी ठहरिन बाँकी छ । यता सिआईबी भने साइबर ब्यूरोबाट म्याद थप भएर प्रमाणहरू संकलन गर्न लागेको छ । अनुसन्धान गर्ने भनिएको चाहिँ विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार हो । जहाँ विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
प्रसाईं एमाले पूर्व केन्द्रीय सदस्य हुन् । गत वर्षको सुरुमा झापाको मेचीनगरमा देशको अन्तिम राजा ज्ञानेन्द्र शाहलाई लगेर एउटा अभियानको उद्घाटन गराएका थिए । त्यसपछि उनलाई ओलीले कारबाही गरे । अनि, प्रसाईं ओलीसँग रुष्ट भए । पहिले हजुरबुबा भन्दै अभिभावक मानेका प्रसाईंले ओलीलाई भ्रष्टाचारी भन्न थाले । कम्बोडियाको टेलिकम स्मार्ट एजियाटामा लगानी गरेको आरोप लगाए । अन्तत: सोमबार त्यससम्बन्धी एउटा भिडियो सार्वजनिक गरे । तर, त्यहाँ ओलीको नाम र हस्ताक्षर मिलेको देखिएको थिएन, जसकारण फेक कागजात सार्वजनिक गरेर भ्रम फैलाएको टिप्पणी मुख्यत: प्रधानमन्त्री ओलीको दल एमालेबाट भयो । यसपछि प्रसाईं पक्राउ परेका हुन् ।
उनी तत्कालीन नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डलाई घरमा बोलाएर मार्सी चामलको भात खुवाएपछि एकाएक चर्चामा आएका विवादित मेडिकल व्यवसायी हुन् । पछिल्लो समय उनी हिन्दुराष्ट्र पुन:स्थापना र राजा फर्काउने अभियानमा छन् । तर, उनलाई राजतन्त्र र हिन्दुराष्ट्र पक्षधर राजनीतिक शक्तिहरू राप्रपा र राप्रपा नेपालले पत्याएका छैनन् । उनलाई बैंकको ऋण नतिरेर अरुलाई पनि नर्तिन उक्साएको आरोप पनि लाग्दै आएको छ ।


















