आन्दोलनको पूर्व सन्ध्यामा किन पक्राउ परे दुर्गा प्रसाई ?

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनीलाई मंसिर ४ गते भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका पसाईलाई अनुसन्धानको निम्ति म्याद थप गर्न बुधबार जिल्ला अदालत पेश गरेकोमा थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । कम्बोडियामा रहेको टेलिकम आजियाटा कम्पनीमा प्रधानमन्त्री के पी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको प्रमाण भन्दै उनले एउटा भिडियो सार्वजनिक गरेका थिए । सोही भिडियोका कारण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले साइबर अपराध मुद्दामा प्रसाईलाई पक्राउ गरेको हो । प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने बनाइएको छ ।

उनले मंसिर ३ गते बिहान देशका प्रधानमन्त्रीको असली चरित्र भन्दै एउटा भिडियो फेसबुकमा पोस्ट गरे र लेखे– म मर्न तयार छु यस्ता तस्कर सँग झुक्न तयार छैन। मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगी माथि खतरा थपिएको छ । मलाई यसैकारण मार्न पनि सक्छन् भन्ने पनि मलाई थाहा छ । तर मर्न त एक दिन मैले मर्नै पर्छं, म मरेता पनि मेरा नेपाली दाजुभाईलाई भष्ट्रचारीको असली चरित्र थाहा दिन्छु भनेका छन् । भिडियोमा कम्बोडियाको आजियाटा कम्पनीका थोमस हुण्ड्टले हस्ताक्षर गरेको देखाइएको छ । उक्त कम्पनीमा प्रम ओलीको २१ करोड अमरिकी डलर अर्थात् नेपाली ३२ अर्ब रुपैयाँ हाराहारी लगानी भएको दावी गरिएको छ।

प्रधानमन्त्री ओलीसँगै एनसेल नेपालका प्रमुख शतिसलाल आचार्य पनि रहेको र अर्को तर्फबाट थोमस हुण्ड्टले हस्ताक्षर गरेको देखाइएको छ । प्रसाईले प्रमाण भनिएको भिडियो झटट् हेर्दा सत्य जस्तो देखिदैन किनकि समझदारी पत्रको शुरुको नाममा खड्गप्रसाद ओलीको स्पेलिङ गलत लेखिएको छ । त्यस्तै भिडियोमा उक्त समझदारीपत्रमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा शेयरहोल्डरका रुपमा हस्ताक्षर गरेको देखाइएको छ। यी कागजात सक्कली नै हुन् र आधिकारिक स्रोतबाट प्राप्त भएको भन्ने कुनै आधार छैन । प्रविधिको जामनामा यस्ता बिवरण बनाउन ग्राहो छैन ।

यद्यपी गतवर्षपनि अन्तर्राष्ट्रिय मिडियाले समेत ओलीको कम्बोडिया भ्रमण र लगानीका बारेमा समाचारसमेत बनाएका थिए । २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी र स्विस बैंकमा ६६ करोड लुकाएको भन्ने समाचार फ्रान्सको पेरिसबाट सञ्चालित ग्लोबल वाच एनलाइसीस नामक पत्रिकाले छापेको थियो । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सुर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’ को हवाला दिँदै प्रकाशित समाचारहरु झुठ रहेको दाबी गरेका थिए । उनले प्रेस नोट प्रकाशित गर्दै प्रधानमन्त्रीको नाम जोडेर आएका ति समाचारहरु गैरजिम्मेवारपुर्ण र बदनियतका साथ प्रकाशित भएको उल्लेख गरेका थिए । आरोपकै बीच प्रधानमन्त्री ओलीले पनि त्यस बारेमा प्रष्टिकरण दिएका थिए र पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीलै कम्बोडियामा ३ हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका थिए । ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ ओलीले भनेका थिए, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’ आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिएका थिए । पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताएका थिए । आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताएका थिए । ‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने, अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन।

यसरी एकातर्फ दुर्गा प्रसाईले विदेशी मिडियाले केपी ओलीको विदेशी कम्पनीमा लगानी छ भन्ने अर्को तर्फ ओलीले छैन भन्ने खेल पुरानै हो । तर पुन: अहिले बजारमा किन आयो ? के दुर्गा प्रसाईले यसको असर अनी देशको कानुन नबुझेका हुन ? यसमा दुर्गा प्रसाई एक्लै छन् कि उनका पछाडी देशी बिदेशी शक्ति पनि छन् यस्ता धेरै प्रश्न अहिले उब्जेका छन् । र सरसर्ती हेर्दा यसको पछाडीका कारण धेरै हुन सक्छन् जसमा एउटा त दुर्गा प्रसाईको आहनमा यही मंसिर ७ गते राजधानी काठमाण्डौंमा प्रदर्शन हुँदै छ । प्रसाईले त्यसमा मान्छे जुटाउन भिडियो सार्वजनिक गरेका र सरकारले प्रर्दशन निश्तेज गर्न प्रसाईलाई प्रकाउ गर्ने खेल भएको हुन सक्छ ।

दोस्रो यसका पछाडि दुर्गा प्रसाई देशी बिदेशी शक्तिबाट परिचालित भएको पनि हुनु सक्ने सम्भावना देखिन्छ । किनकि देश भित्रको शक्तिको कुरा गर्दा उनले गत बर्षबाट देशमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहे छन् । प्रसाईको अभियानको उद्घाटन गर्न गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित पुगेका थिए । त्यस्तै एमाले र माओवादी मिलेर गठित तत्कालिन नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं केपी शर्मा ओलीलाई उनले आफ्नो घरमा बोलाएर मार्सी चामलको भात खुवाएको तस्बिर सार्वजनिक भएको थियो । नेकपा फुटेपछि प्रसाई एमालेका केन्द्रीय सदस्य बने। उनले केपी ओलीसँग आफ्नो पारिवारिक नाता भएको बताउँदै ओलीलाई हजुरबा भन्थे । अहिले ओली सँग झगडा परेपछि मार्सी चालमको भात खाएका प्रचण्डले उनलाई संरक्षण दिएका हुन सक्छन् । अर्को तर्फ प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग घटना जोडिएको पनि हुन सक्छ । किनकि ग्लोबल वाच एनलाइसीस नामक पत्रिकाले चीनले एसिया, अफ्रिका वा ल्याटिन अमेरिकाका आर्थिकरुपले कमजोर राष्ट्रहरुमा सरकार प्रमुख भ्रष्ट भएको र तिनलाई चीनले उपयोग गरेको भन्दै उदाहरणको रुपमा नेपाललाई देखाउँदै केपी शर्मा ओलीको समाचार आफ्नो रिपोर्टमा सार्वजनिक गरेको थियो।

यसरी केपी शर्मा ओली ठिक कि दुर्गा प्रसाई ठिक यसै भन्न सक्ने अवस्था छैन । त्यसैले यो गम्भीर विषय छानविन गर्न जसरी सहकारीको समस्या समाधान गर्न संसदीय छानविन समिति बनाइयो सहकारी पिडितको समस्या समाधान गर्न पूर्व न्यायधिशको संयोजकत्वमा छानविन समिति बनाइयो त्यसै गरी यो भिडियोबारे पनि तत्कालै छानविन गर्न एउटा स्वतन्त्र छानविन समिति बनाउनु पर्दछ । यदि देशको प्रधानमन्त्री जस्तो व्यक्तिले साँच्चै विदेशी कम्पनीमा लगानी गरेको भए उनलाई भष्ट्रचारमा होइन राज्य द्रोहीको रुपमा कारवाही गर्न पर्छ। होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बद्नाम गराउन दुर्गा प्रसाईले यो सबै नाटक गरेका छन् र उनी कोही बाट परिचालित छन् भने राष्ट्रको कार्यकारी प्रधानमन्त्रीको अन्तर्राष्टिय जग्तमा समेत बेइज्जत हुने र देश भित्र जनता भड्काउने काम गर्ने दुर्गा प्रसाईलाई राज्यद्रोह र किर्ते लगायत के के अपराधमा कारवाही गर्नु पर्ने हो गर्नुपर्दछ । त्यसैले विषयवस्तु बजारमा आइसकेपछि छानविन हुनुपर्दछ । जसले यदि प्रधानमन्त्री निर्दोष भए उहाँको निर्दोषिता पुष्टी गर्न मद्दत पुग्नेछ र विना आधार गलत समाचार सम्प्रेण गरेको भए दुर्गा प्रसाईलाई कारवाही गर्न पनि सहज हुनेछ ।