साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी

४५ औं अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको सन्दर्भ पारेर संचारिका समूह नेपालको आयोजनामा साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी छलफल कार्यक्रम आज प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ ।


साहित्यमा नारीवादको अवस्था, पहुँच, चुनौति तथा अवसरलाई पहिचान गर्दै विगत, वर्तमान र भविष्यका पक्षमा साहित्यकारहरुसँग सामुहिक छलफल गरिएको हो ।

साहित्यमा नारीवादको विषयमा प्रख्यात साहित्यकार र अनुवादक मन्जुश्री थापा, प्राध्यापक, लेखक र अनुसन्धानकर्ता अरुण गुप्तो र कवि र फिल्म निर्माता उपेन्द्र सुब्बासँग विशेष छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डेले कार्यक्रममा बोल्दै देशमा राजनीतिकले फड्को मारिसके लगतै देशले राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश, मुख्य सचिव पाई सकेको र अब प्रधानमन्त्री र कुलपति महिला बनाउन बाँकी रहेको बताए । देशमा राजनीतिक परिवर्तनसँगै समाज जागृत हुन सके पक्कै पनि राज्यको हरेक तह र तप्कामा महिलाहरुको न्यायपूर्ण ढंगले सहभागिता हुने बताए।


उनले साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी नामक छलफलमा आफ्नो धारणा राख्दै पछिल्लो पटक महिलाहरुको साहित्यमा पनि सहभागिता बढेको बताउँदै नारीवादभित्र समस्या, चूनौति र सम्भावनाका ढोकाहरु कहाँ–कहाँ छन् र राज्यले बनाएका संघसंस्थाहरु तथा नीजि संस्थाहरु पनि जागृत हुनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले समाजमा दविएका अन्तरकुन्तर विषयलाई सबैका सामु ल्याउने काम पनि साहित्यले गर्ने हुँदा साहित्य क्षेत्रलाई कानुनी रुपमै बलियो बनाउनु पर्ने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले साहित्य क्षेत्रमा विगतमा भन्दा पछिल्लो समय महिलाहरुको सहभागिता बढ्दै आएको बताए । साहित्य क्षेत्र कुनै जातजाति, वर्ग क्षेत्रको मात्र नभई यसको महत्व र पहुँच बुझ्न सके देशलाई नै परिवर्तन गर्न सक्ने बताए ।

साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी छलफल कार्यक्रमको सहजीकरण पत्रकार निमा काफ्नेले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता संचारिका समूह नेपालका अध्यक्ष एवंम सक्रिय पत्रकार तथा लेखक बिमला तुम्खेवाले गरेकी हुन् । उक्त छलफल कार्यक्रममा साहित्यकार तथा पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजीका विषयमा सामुहिक छलफल समेत भएको थियो । सो कार्यक्रम संचारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको हो ।