यति बेला काठमाडौका विभिन्न सार्वजनिक स्थलका भित्ताहरुमा सुन्दर भित्ते चित्रकलाहरु कोर्दै गरेको देख्न सकिन्छ । काठमाडौको दशरथ रङगशालाका भित्ताहरुमा विभिन्न खेलको झल्को आउने चित्रहरु बनाउदै गरेको देखिन्छ । त्यसरी नै अन्तराष्ट्रिय सम्मेलन केन्द्रको बाहिर विभिन्न जनजातिका भेषभुषाको झल्को आउने चित्रहरु कोर्दै गरको देन्खिछ । तपाईलाई जिज्ञसा जाग्न सक्छ, यी चित्रहरु कसको सकृयतामा कोरिदै छन् भन्ने । यी चित्रहरु विगतका सभ्यताहरुलाई झल्काउने गरी कोर्न काठमाडौँ महानगरपालिकाको सकृयतामा सुरु भएको हो ।
भित्ते चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्न काठमाडौँ महानगरपालिका र ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखनको थालिएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो ।
चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुने गरि सम्झौता भएको थियो । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो ।
पहिलो चरणमा १६ हजार स्क्वायर फिटमा चित्र कोर्ने बताएका थिए । सुन्धारा, नयाँ वानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र कोरिनेछन् ।
चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तरराष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन् । मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुनेछन् ।
भित्ते चित्रले एक विशेष सभ्यताका मानिसहरुका गतिविधिहरु चित्रण गर्दछ । समयको एक पललाई समेट्दछ । विभिन्न समयमा वा विभिन्न काल खण्डमा घटित भएका घटनाहरु,त्यस समयका यादहरु,त्यति बेलाको जीवनशैली र धार्मिक तथा मनोरञ्जनात्मक दृष्यहरुलाई देखाइन्छ ।



















