रास्पाका अध्यक्ष लामिछाने अझै तीन दिन काठमाडौंको हिरासतमा,पहिलो दिन नै ६ घण्टा बयान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौं हिरासतमा रहने भएका छन् । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमै रहने भएका हुन् । बिहानदेखि सुरू बयान अपराह्न ३स्३० बजे सकिएको छ। आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन्।

अब उनको बाँकी बयान आइतबार हुने छ। उनी सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा थिए। काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो। स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्।

त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेट्वर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ। यसअघि उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो। स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ।

पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।