आज बिहान ७ बजेदेखि स्थानीय तह उपनिर्वाचनको मतदान जारी छ।
उपनिर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंको कीर्तिपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ । मतदान बिहान सात बजेदेखि सुरु भई साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ ।
सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । त्यसपछि सशस्त्र प्रहरी र अन्तिम तथा सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने गरी प्रबन्ध मिलाइएको छ ।आवश्यकता अनुसार सादा पोशाकमा विशेष प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले बताएको छ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।


















