ट्रम्पले शपथ लिनेबित्तिकै ६४५ जनालाई सजाय माफी दिने

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले सयौं जनालाई सजाय माफी दिने भएका छन् । जनवरी २० मा आफूले शपथ लिने बित्तिकै सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा आफ्ना समर्थकहरूलाई माफी दिने बताएका हुन् ।

राष्ट्रपतिको चुनाव जितेपछिको पहिलो अन्तरवार्तामा ट्रम्पले यस्तो बताएका हुन् । ‘उनीहरू नर्कमा बाँचिरहेका छन्’ एनबीसीको मिट द प्रेस कार्यक्रममा उनले भने । सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा १ हजार २५० जनाभन्दा बढीलाई दोषी ठहर्‍याइएको थियो । यसमध्ये ६४५ जनालाई केही दिनदेखि २२ वर्षसम्मको सजाय दिइएको थियो । पदको शपथ लिनेबित्तिकै पहिलो दिनदेखि नै आफूले तीव्रतासँग काम गर्ने पनि उनले बताएका छन् ।