वित्तीय अपराधका आरोपीलाई पूर्वप्रधानमन्त्रीहरूको काँध

वित्तीय अपराधका आरोपी हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । उनी प्रहरी हिरासतमा बसेको दुई महिना हुनै लाग्यो । हिरासतमै रहे पनि नेपाली राजनीतिमा यो साता उनी सर्वाधिक चर्चामा रहे । कारण, प्रहरी हिरासतमा उनको मानव अधिकार हनन् भएको भन्ने विषय चर्चाको मूल मुद्दा बन्यो ।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईसँगै कांग्रेसको डा. शेखर कोइराला पक्ष र राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले हिरासतमा मानव अधिकार रक्षाको सन्दर्भ जोडेर रविको पक्षमा उत्रिए । मानौँ, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुुद्धीकरणसम्बन्धी कसुरमा अनुुसन्धानका लागि रविलाई पक्राउ गर्नु नै हुने थिएन ।

हो, रवि होस् या अरु जो कोही, न्यायिक हिरासतमा आरोपी पुुगेपछि शारिरीक र मानसिक यातना दिन मिल्दैन । आधारभूत सेवाबाट बञ्चित गर्नुु हुँदैन । पर्याप्त कारणविना रातारात अभियुक्तलाई अड्डासार पनि गर्नुु हुँदैन । तर, प्रशासनका अनुसार चितवनबाट रातारात रविलाई पोखरा पुुर्‍याएको सन्दर्भ भने अलिक फरक थियो । जस्तो : रविको बयानको दिन जसरी रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरे, त्यहाँ झडप हुँदा प्रदर्शनकारी र प्रहरी दुुवैतर्फ घाइते भए । त्यसैले सुरक्षा संवेदनशीलताको विश्लेषणको आधारमा रातारात उनलाई पोखरा पुर्‍याएर सम्भावित घटनालाई टारेको चितवन प्रशासनको दाबी छ ।

प्रशासनको दाबी सही हो भने प्रमुख विपक्षी नेता प्रचण्डसँगै अन्य विपक्षमा रहेका नेताहरूले यसलाई ठूलो राजनीतिक मुद्दा बनाउनुुपर्ने देखिँदैन । यदि रविको डायरी प्रहरीले गायब गरेकै हो भने त्यो गलत हो । रविले भनेझैं ‘मातेका केही प्रहरी’ले दुव्यर्वहार गरेका भए त्यो त झन् गैरकानुनी नै भयो । किनभने अभियुक्तको मानवअधिकारको रक्षा पनि राज्यको दायित्व हो ।

तर, लामिछानेको अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको बेला पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर पक्षधरता देखाउँदा सुशासनमा समेत प्रश्न उठ्छ । लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै प्रचण्ड चितवन पुगेर ‘उनलाई जसरी पनि बचाउनुपर्ने’ अभिव्यक्ति दिएका छन् । लामिछानेको निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रचण्डले जसरी अभिव्यक्ति दिएका छन्, त्यसभित्र उनको राजनीतिक अभिष्ट लुुकेको देखिन्छ । प्रचण्ड प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका लामिछानेको बचाउमा उनी सुरुदेखि नै लागेका छन् । प्रचण्डकै पहलमा लामिछानेलाई सहकारी ठगी प्रकरणमा कुनै मुद्दा नरहेकोभन्दै महान्यायधिवक्ताको कार्यालयले सफाईपत्र नै दिएको थियो । दोहोरो नागरिकताको विवाद प्रकरणमा पनि प्रचण्ड बचाउमा लागेका थिए । लामिछानेले प्रष्ट रुपमा दोहोरो राहदानी प्रयोगको कागजपत्र सार्वजनिक भइसक्दा सो मुद्दा चल्न नदिएर प्रचण्डले उन्मुक्ति नै दिएका थिए ।

यसले प्रचण्ड पछिल्ला दिनमा लामिछानेप्रति किन बढ्ता प्रेम दर्शाइरहेका छन् ?

प्रश्न उठेको छ । यसमा खासगरी सत्ता राजनीतिको उद्देश्य लुुकेको चर्चा पनि छ । कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा निकट लामिछानेलाई अहिले प्रचण्डले साथ दिन खोज्नुको अर्थ चाहिँ सम्भावित सत्ता समीकरणमा लामिछानेको पार्टीलाई आफ्नो पक्षमा राख्ने प्रचण्डको रणनीतिको रूपमा पनि लिइन्छ । लामिछाने नेतृत्वको पार्टीमा २१ सांसद रहेका छन् । प्रचण्डले लामिछाने र माधव नेपाललाई आफ्नो पकडमा राख्ने प्रयास गरिरहेका छन् । त्यसैले, अनुसन्धान प्रभावित हुने गरी प्रचण्डले अभिव्यक्ति दिइरहेका छन्, जबकी तिनै प्रचण्ड आफ्नो १८ महिने शासनकालमा सुुशासनका लागि ठूला ठूला भ्रष्टाचार र अनियमिताका फाइल खोलेको बताउने गर्छन । त्यसैले लागेका आरोपहरू उपर रवि न्यायिक प्रक्रियामा रहँदा अनुुसन्धान प्रभावित हुनेगरी प्रचण्डसहितका नेताहरूले अभिव्यक्ति दिनु कुनै पनि कोणबाट जायज मान्न सकिँदैन ।

लामिछाने हाल पर्सा प्रहरीको हिरासतमा छन् । त्यहाँको सानो पाइला सहकारीमा भएको ठगी प्रकरणमा बयानका लागि उनलाई प्रहरीले त्यहाँ लगेको हो । रवि सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा काठमाडौंको बनस्थलीबाट पक्राउ परेका हुन् । उनलाई अनुुसन्धानका लागि पटकपटक म्याद थपिएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुुप्रिम, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारी ठगीबारे बयान दिएका छन् । उनले सबै सहकारी ठगीमा इन्कारी बयान दिका छन् । तर, केही सहकारीमा भने आफैंले ब्याज तिर्न बुझाएको चेक नै सार्वजनिक भएको छ । त्यसले रविको संलग्नता सहकारी ठगीमा देखिएको अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरू बताउँछन् ।यससँगै रवि आत्तिएको देखिएको छ । बिहीबार मात्रै उनले वीरगञ्जमा पुगेर यदि न्यायाधीशले आफूविरुद्ध लागेका मुद्दाहरूमा सफाइ दिएर रिहा गरे गर्व लाग्नेगरिको काम गर्ने प्रतिज्ञा गरेका थिए ।

रविको यस्तो अभिव्यक्तिलाई कतिपयले भने सहकारी ठगीमा आफ्नो संलग्नता स्वीकारेको अर्थमा विश्लेषण गरेका छन् ।
गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा तत्कालीन व्यावसायिक साझेदार गितेन्द्रबाबु (जिबी) राईले विभिन्न सहकारीबाट ल्याएको गैरकानुनी रकम अपचलनमा रविको संलग्नता ठहर भएको थियो । ठहर गर्ने सूर्यबहादुर थापा संयोजक रहेको सहकारीको बचत अपचलनको छानबिन गर्न गठित संसदीय समिति हो । सोही समितिले गत ४ असोजमा संसदमा प्रतिवेदन प्रस्तुत गरेको थियो, जहाँ रविको संलग्नता सहकारीको रकम अपचलनमा देखिएको थियो । त्यस आधारमा उनीविरुद्ध प्रहरीले तीनवटा मुद्दामा अनुसन्धान गरिरहेको हो ।