अवैध लागूऔषध सहित तीन जना पक्राउ

रूपन्देही, शुद्धोधन गाउँपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका–१ किसुली बस्ने ३१ वर्षीय मोहन लोनियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका–४ हरकपुराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम र भारतीय २७ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराजगंज ठुठिबारी थाना कदौरा जमुरकला बस्ने २६ वर्षीय सन्तोष लोनिया र महाराजगंज ठुठिबारी थाना जमुरकला बस्ने २६ वर्षीय हरिन्द्र कनौजिया रहेका छन् । इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी पाँचपेडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ जे ९८०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।