श्रीलङ्कामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

श्रीलङ्काको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुबाहक बस खाल्डोमा खस्दा तीन जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको समयमा बसमा २५ यात्रु सवार थिए र सबै यात्रु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने बाँकी यात्रुको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । मोटर सवारी दुर्घटनाहरू श्रीलङ्कामा बारम्बार हुने घटनाहरू हुन् । आधिकारिक तथ्याङ्क अनुसार यस वर्ष जनवरी १ र अक्टोबर २५ बीच सडक दुर्घटनाहरूमा लगभग दुई हजार मानिसहरूको मृत्यु भएको छ ।