सबै दलसँग छलफल गरेर संविधान संशोधन अघि बढाउँछौं–उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन्।

संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको जानकारी पनि उनले गराए ।

‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ,’ बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

अर्को प्रसंगमा उपप्रधानमन्त्री सिंहले कोभिड महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई नकास्न सरकारले काम गरिरहेको र अहिले सुधारका संकेत देखिन थालिसकेको उनले बताए ।

सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोर शिलान्यास र दयानगर दानव लिफ्ट सिंचाइ योजना उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन सिंह रुपन्देही पुगेका हुन् ।

पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।