मगर समुदायको प्रमुख सांस्कृतिक चाड माघे सकराती काठमाडौंको टुँडिखेलमा दुई दिनसम्म भब्य रुपमा मनाउने भएका छन्।

विशेष गरी उपत्यकामा बसोबास गर्ने मगर समुदायले सधैं झै यस वर्ष पनि टुँडिखेलमा दुई दिनसम्म भव्य रुपमा माघे सकराती पर्व मनाउने भएको हो ।
नेपाल मगर संघ केन्द्रीय समितिले बिहीबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै माघे सकराती पर्वको अवसरमा यही पुस २९ र माघ १ गतेका दिन टुँडिखेलमा भव्य रुपमा मनाउन संघले सम्पूर्ण तयारी अन्तीम चरणमा पुगेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

मगर समुदायले यस पर्वलाई नयाँ वर्षको सुरुआतको रुपमा समेत लिर्दै आएको छ । काठमाडौंको टुँडिखेलमा आयोजना गरिने मगर समुदायको प्रमुख चाडको उद्घाटन तथा शुभकामनाकालागि प्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको संघले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
पत्रकार सम्मेलनमा संघले जानकारी दिर्दै मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख सांस्कृतिक चाड माघे सकराती २०८१को अवसरमा “मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनायौं, गरौं मगर हुनुमा गर्व । प्रकृति–कुलपितृ–चेली पूजाको मूल सांस्कृतिक चाडको रुपमा मनाऔं माघे सकराती पर्व ।।” भन्ने मूलानारालाई जोड दिर्दै मगर जातीका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचिमा सूचिकृत गराउन विश्वव्यापी गराउने उद्देश्यले २ दिने मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव संघको मुख्य आयोजना र संघका भातृसंस्थाहरु र आबद्ध संस्थाहरुका सहआयोजनामा हुनु लागेको जानाकारी दिए ।
दुई दिने मगर समुदायको प्रमुख चाड माघे सकराती पर्वमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रदर्शनी गरिने संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिए । माघ १ गते विशेष समारोह सुरु हुनअघि मौलिक झाँकीसहित १० बजे भृकुटी मण्डपबाट रयाली सुरु हुने समेत अध्यक्ष पुनमगरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुनले नेपालको संस्कृतिमा ठोस नीति नहुँदा मौलिक संस्कृति लोप हुने र विस्तारै मानवजातीको संस्कृति र पहिचान नै मेटिने हुँदा मानव समुदायबाट सिर्जित कला संस्कृतिहरूको जगेर्नामा सरकारको गम्भीर ध्यान जानु पर्नेमा जोड दिए । मानव समुदायलाई प्रकृतिसँग जोड्नका लागि कला–संस्कृतिहरुको मौलिक महत्व हुने हुँदा यस्ता मौलिक कला संस्कृति र सम्पदा प्रति राज्यको चिन्ता र चाँसो नहुंदा संस्कृतिको धनि देश विस्तारै ओझेलमा पर्ने अध्यक्ष पुनले बताए । राज्यलाई देशभित्र रहेका सम्पूर्ण जातजाति तथा भाषाभाषीको पहिचान, अस्तित्व र उनीहरुको संस्कृति तथा संस्कार चाडपर्वलाई संरक्षण प्रवद्र्धन गर्नु पर्नेमा जोडदार माग गरे ।
पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव टेक लामजाली मगरले माघे सकराती पर्वको बारेमा बताउँदै पितृ, प्रकृति र चेली पुजा गरेर मनाईने माघे सकराती पर्व मगर समुदायको प्रमुख सांस्कृति चाड भएको जानकारी दिए । नेपाल सरकारबाट २०६५ सालमा माघे सकराती पर्वलाई मगर समुदाय र थारुहरुको प्रमुख राष्ट्रिय चाड भनेर घोषणा समेत गरेको जानकारी गराए । चाडकै अवसरमा मगर चेलीहरुले मूलको पानी र जमरा स्वरूप जौको फूल लिएर घरको धुरी खाँबोमा पूजा गर्ने प्रचलन रहेको समेत महासचिव लामजालीमगरले जानकारी दिए । देशमा रहेका सबै भाषा, सांस्कृतिक तथा सामाजिक विविधताको संरक्षण–प्रवद्र्धन गर्दै पुस्तान्तण हुँदै देशलाई सवृद्ध बनाउन राज्य सरकार, राजनैतिक दलको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा माघे सकराती पर्वको बारेमा पत्रकारलाई जानकारी दिर्दै संघले नेपाल एक बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक तथा बहुधार्मिक देश भएको बताउँदै नेपालमा मगर समुदाय तेस्रो धेरै जनसंख्या रहेको मगर जातीलाई संसारले विर गोर्खाली जाती भनेर चिन्दै आएको जानकारी गराए । त्यस्तै गरी मगर समुदायको माघे सकराती पर्वको बारेमा जानकारी दिर्दै संघले नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको प्राचिन आदिबासी मगर समुदाय भित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता रहेको जानकारी गराएको थियो । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे सकराती चाड, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाड पर्व मनाउने गरेको जानकारी दिर्दै भाषिक रुपले मगरहरुले बाह््रमगरात (मगर ढुट), अठार मगरात (मगर खाम) र मगर (काइके भाषा) बोल्ने गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसैगरी पत्रकार माँझ मौलिक कला संस्कृतिहरुका बारेमा मगरहरुमा हुर्रा, सोरठी, कौराहा, मारुनी, पैस्यारु, टप्पा, घाँटु, यानीमाया, जिवैमामा आदि संस्कृतिहरु प्रचितमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
माघे सरकारती पर्वको महत्वपूर्ण पक्षलाई संघले पत्रकारहरु माँझ जानकारी दिर्दै माघे सकरातीमा दाजुभाई दिदीबहिनी सबैले विहानको पहिलो पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पात लिएर घरको धूरी खाँबोमा पूजा गरिने र यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाईहरुले पूजा गर्ने चलन रहदै आएको छ । चामलको सेतो टिका र जौं पातीको फूल लगाई दक्षिणा दिई आर्शिवाद दिने चलन छ । यस दिने छोरी चेलीहरुलाई गिठठा, भ्याकुर, पिडालु, तरुल, सेल रोटी सहितको परिकार मिसिएको मिस्ना दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घरघरमा पठाइदिने गरिन्छ । त्यसैगरी मिस्ना भन्नाले तरुल, गिठठा, भ्याकुरको परिकारहरु भुजौली खिचदी, घिउको परिकार बनाइको परिकार भएको संघका प्रतिनिधिहरुले पत्रकारहरुलाई जानकारी दिए । त्यसैगरी चाडमा मौलिक रुपले भैलो खैल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषाण (तारखेल्ने) गरिन्छ । सांस्कृतिक रुपमा यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेशीबाट लेकतिर बसाई सर्ने गरिन्छ जसलाई उभेली भन्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक रुपमा निकै नै महत्वपूर्ण रहेको संघले सम्मेलनमा पत्रकारहरु माँझ आम जनमानसलाई जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय उपाध्यक्ष रक्षा रैकामगरले २ दिन सम्म मनाईने पर्वको कार्यक्रमको जिम्मेवारी बाँटफाँड गरेको बताए । उनले टुडिखेलमा दुई दिनसम्म मनाईले मगर समुदायको महान चाड माघे सकरातीको सम्पूर्ण तयारीको संघका विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिएको बताउँदै जसमध्ये मौलिक मगर सांस्कृतिक प्रस्तुतकिरण कार्यक्रममा संयोजक कविराजमगर (उपाध्यक्ष) र सहसंयोजकः होमराज खपाङगीमगर (उपमहासचिव) सदस्य सचिवः दिपसागर थापामगर (अध्यक्ष सांस्कृतिक संघ) । त्यसैगरी गरी मौलिक झाँकी सहितको ¥यालीमा संयोजक गंगा बहादुर थापामगर (सहअध्यक्ष), सहसंयोजकः जगत रेश्मीमगर (उपाध्यक्ष), सदस्य सचिव झविन्द्र पुनमगर (अध्यक्ष, नेपाल मगर संघ, सम्पर्क समन्वय, केन्द्रीय समिति) । त्यसैगरी गरी स्वयमसेवक व्यवस्थापनः संयोजकः रेम पुनमगर (अध्यक्ष, नेपाल मगर युवा संघ) र सहसंयोजकः राजकुमार थापामगर (सम्पर्क समन्वय) सगुन व्यवस्थापन तथा अतिथि सत्कारः संयोजकः हिरुसरा रानामगर (अध्यक्ष तथा नेपाल मगर महिला संघ), सचिवालय संयोजक समितिः पर्व उत्सव तथा महोत्सव विभागः संयोजक चन्द्र ज्योति आलेमगर (उपमहासचिव, सहसंयोजक बिनिता आलेमगर (सचिव, सदस्य सचिवः झलक थापामगर (केन्द्रीय सदस्य), सचिवालय संयोजनः खेगेन्द्र पुनमगर (उपमहासचिव), एकु थापामगर (उपमहासचिव), मिडिया संयोजनः संयोजक रक्षाबहादुर रैकामगर (उपाध्यक्ष) नेपाल मगर संघ केन्द्रीय समिति) मूलआयोजक समितिः संयोजकः ज्ञानेन्द्र पुनमगर(अध्यक्ष, नेपाल मगर संघ केन्द्रीय समिति) तयार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउँदै संघले दुई दिने माघे सकराती पर्वमा मगर मौलिक संस्कृतिहरु १७ वटा प्रस्तुत गर्नेछन साथै संघले मगर राष्ट्रिय गान सार्वजनिक गरिएको समेत पत्रकार सम्मेलनमा उपाध्यक्ष रैकामगरले जानकारी दिए ।

त्यसैगरी दुई दिनसम्म हुने सांस्कृतिक पर्वमा मगर मौलिक संस्कृतिहरु यस प्रकार रहेको छ जसमा नेपाल मगर संघ तनहु काठमाडौं सम्पर्क समितिबाट केशर थापामगरको संयोजकत्वमा मौलिक कौराह नृत्य प्रस्तुत, भूमे समाज काठमाडौंको तर्फबाट मदन रोका मगरको संयोजकत्वमा फाङक नाच प्रस्तुत, मगर उत्थान समाज गोंगबु काठमाडौं समितिबाट चन्द्र बहादुर थापा मगरको संयोजकत्वमा मौलिक कौराह नृत्य प्रस्तुत, नेपाल मगर संघ रामेछाप काठमाडौं सम्पर्क समिति, कुटिघर मगर समाज र कल्याणााकारी कोषको तर्फबाट दुर्गा बहादुर आच्छामी मगरको संयोजकत्वमा धाँसी संस्कृति प्रस्तुत, भुमे समाज काठमाडौंको तर्फबाट मदन रोकामगरको संयोजकत्वमा स्याम्बो तृत्य प्रस्तुत, सरोफेरो लाङघाली मगर समाजको तर्फबाट पद्यमा थापामगरको संयोजकत्वमा कौराह नृत्य प्रस्तुत, त्यसैगरी भुमे समाज काठमाडौंको तर्फबाट मदन रोकामगरको संयोजकत्वमा डिग्रे नाच प्रस्तुत, सिंधुली कलाघरका तर्फबाट सुमन थापामगरको संयोजकत्वमा मौलिक संस्कृति नौमती पन्चेबाजामा हुर्रा, कौरा मारुनी, झ्याउरे, सराङ्या, पैसेरु, सालैजो र घाटु जस्ताको धुन सहितको नृत्य प्रस्तुत, नेपाल मगर संघ उदयपुर काठमाडौं सम्पर्क समितिबाट भुवन मगरको संयोजकत्वमा मौलिक हुर्रा नाच प्रस्तुत, नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको तर्फबाट रेशम थापामगरको संयोजकतवमा कौरा नृत्य प्रस्तुत, बुढानिलकण्ड मगर समाजको तर्फबाट प्रदिप मगरको संयोजकत्वमा हुर्रा नाच प्रस्तुत, नेपाल मगर संघ म्याग्दी काठमाडौं सम्पर्क समितिबाट एलिजिबा पुनमगरको संयोजकत्वमा मौलिक थाली नाच प्रस्तुत, मगर परिवार नेपालको तर्फबाट प्रनिश आलेमगरको संयोजकत्वमा शुभकामना गीत प्रस्तुत, नेपाल मगर संघ भोजपुर काठमाडौं सम्पर्क समितिको तर्फबाट मोहन रानामगरको संयोजकत्वमा सिमला बारुला नृत्वमा प्रस्तुत, साउल फेसन नृत्य समुहको तर्फबाट एमबी मगरको संयोजकत्वमा माघे मेलैमा भन्ने गीतमा शुभकामना नृत्य प्रस्तुत गरिने त्यसैगरी सिन्धुली कलाघर सुमन थापामगरको संयोजकत्वमा सहिद लखन थापामगर विशेष गीति नाटक प्रस्तुत रहनेछ तथा ललितपुरबाट भुवन थापा मगरको संयोजकत्वमा कौराह नृत्य प्रस्तुत हुने संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस वर्ष टुडिखेलमा मनाइने माघे सकराती पर्वको मूल व्वस्थापन समितिको संयोजकमा भने नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष गंगा खासु मगर रहेकी छिन् । संघका सहअध्यक्ष खासुमगरले माघे सकराती पर्वलाई प्रमुख सांस्कृतिक पर्वको रुपमा मनाउन सदा झै यो वर्ष पनि देश तथा विदेशमा रहेका सम्पूर्ण मगर तथा गैरमगर समुदायलाई अपिलका साथै संस्थागत रुपमा शुभकामना समेत दिएकी छिन् । पत्रकार सम्मेलनमा स्वागत मन्तब्य संघका सहअध्यक्ष गंगाथापामगरले गरेका थिए । संघले मगर राष्ट्रिय गान सार्वजनिक भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।



















