पृथ्वीनारायण शाह सम्झिए, शेरा दरबारचाहिँ बेचिए !

पृथ्वीनारायण शाह नुवाकोट विजयपछि कीर्तिपुर आक्रमणको तयारीमा थिए । त्यहीबेला युवराज प्रताप शाहको रेखदेखमा नुवाकोटको तादी किनारमा पर्ने सेरामा दरबार बन्दै थियो । अनुसन्धाताद्वय धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठका अनुसार जुन शीतकालिक दरबार थियो । नुवाकोटडाँडाको दरबार चाहिँ ग्रीष्मकालिक दरबार थियो ।

मौसमअनुसार दरबार बनाउने तात्कालिक परम्परालाई निरन्तरता दिँदै पृथ्वीनारायण शाहले दुवै मौसममा बस्न मिल्ने भिन्नभिन्नै दरबार बनाउन लगाएका थिए ।
त्यसरी निर्मितमध्ये सेरा दरबारमा पृथ्वीनारायण शाह जाडोयाममा बस्थे । वर्षायाममा गर्मी अधिक हुनाले उनी गोरखा राज्यको राजधानीसमेत रहेको नुवाकोट डाँडामा रहेको साततले दरबार जान्थे ।

दरबारको आवश्यकताबारे अनुसन्धानपत्रमा थप भनिएको छ, ‘नुवाकोट प्रदेशको भौगोलिक अवस्थाले गर्दा पनि दरबारको आवश्यकता परेको थियो । नुवाकोट बेंशीमा ग्रीष्ममा मधेसमा जस्तै गर्मी हुन्छ । यसकारण ग्रीष्मकालमा बेंसीमा बस्नु केही कष्टकर छ । माथि डाँडोमा भने त्यति गर्मी हुँदैन । हावा राम्ररी लागि रहने हुँदा केही शीतल नै हुन्छ । जाडोको समयमा भने डाँडामा भन्दा तल बेंसीमा बस्नु आरामदायक हुन्छ ।’प्राप्त अभिलेखलाई आधार मान्दा सेरा दरबार निर्माण १९२२ मा भएको देखिएको छ । अभिलेखमा तत्कालीन युवराज प्रतापबारे बढी विवरण उल्लेख छ । यही दरबारमा पृथ्वीनारायण शाहले जीवनको अन्तिमकालमा भाइभारदारलाई दिव्योपदेश दिएको दाबी पनि अनुसन्धाताद्वय बज्रचार्य र श्रेष्ठको छ ।

‘रोगले शरीरलाई गाल्दै ल्याए पनि भाइ भारादारहरू भेला गरी उक्त उपदेश श्री ५ पृथ्वीनारायण शाहले दिएथे, जुन उपदेश नेपाली मात्रको लागि प्रेरणाप्रद, पथप्रदर्शक रूपमा रहन पुगेको छ’, श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट–माडी दरबारसम्बन्धी अनुसन्धान पत्रमा उल्लेख छ, ‘यसो हुँदा जसलाई दिव्य उपदेशको संज्ञा पनि दिइन थालियो । यसरी दिव्य उपदेश दिइएको ऐतिहासिकस्थल यही नुवाकोट माडी दरबार देखिएको हुनाले यस दरबारको ऐतिहासिक महत्व अझ बढी रहेको स्पष्ट छ ।’

यसले गर्दा सेरा दरबार ऐतिहासिक हो । पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ । दस्तावेजहरूका आधारमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरको पालामा दरबारको पुनर्निर्माण भएको थियो । तर, यतिबेला उक्त दरबार चर्चामा छ । चर्चामा रहनुको कारण दरबारको १६४ रोपनी जग्गा हिनामिना गरेको विषयले हो ।
नाटकीय रूपमा हाल दरबार क्षेत्रको जग्गा विकेश श्रेष्ठको परिवारले लिएको छ । उनी पूर्वमाओवादी नेता हुन् । हाल मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध छन् । यसअघि उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक (२०६५) सालमा प्रधानमन्त्री हुँदा उनको स्वकीय थिए ।

उनै श्रेष्ठ र उनको परिवारले हदबन्दीमाथिको दरबारको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नै नाटकीय रूपमा लिएका छन् । हाल सेरा दरबार नुवाकोटको विदुर नगरपालिका–२ मा पर्छ । दरबार क्षेत्रले चर्चेको १८४ रोपनी ४ आना १ पैसा हो । त्यसमध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा श्रेष्ठ परिवारले हिनामिना गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ । सीआईबी प्रवक्ता होबिन्द्र बोगटीकाले उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारलाई पत्राचार गरिसकिएको बताए ।

यसका साथै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि पत्र लेखिएको उनको भनाइ छ ।
द्वन्द्वकालमा यो जग्गा तत्कालीन विद्रोही माओवादीले कब्जा गरेको थियो । २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा माओवादी फुटेको र उक्त समूहबाट पनि नेत्रविक्रम चन्द नेतृत्वको एउटा उपसमूह अलग भयो । अनि चन्द नेतृत्वको दलले पार्टी झण्डा यस दरबारमा गाडे । जग्गा कब्जा गरेको घोषणा गरे ।
तर, २०७२ पछि उक्त जग्गा माओवादी नेता श्रेष्ठको स्वामित्वमा सारिएको हो ।

यो दरबार क्षेत्र भने तत्कालीन अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको थियो । दरबारले चर्चेको जग्गा २०२१ मा हदबन्दी कानुन लागू भएपछि सरकारका नाममा सर्नुपर्ने थियो । तर, उक्त जग्गा व्यक्तिकै नाममा जोगाउन २०२७ मा गौरीशंकर फार्मिङ स्थापना गरी कम्पनीका नाममा राखिएको थियो ।

गौरीशंकर फार्मिङमा सञ्चालक र सेयरधनी हेलन र विजयालक्ष्मी शाह दुवै थिए । गौरीशंकर फार्मिङको नाम २०३६ मा अन्नपूर्ण फार्मिङमा परिवर्तन गरिएको थियो । फार्मिङको सेयर र जग्गा विभिन्न समयमा फरक–फरक व्यक्ति हुँदै २०७२ मा विकेश श्रेष्ठका नाममा आएको प्रहरीले अनुसन्धानमा भेटिएको छ ।
बिहीबार यसबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भयो । समिति बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले सेरा दरबारको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान कार्य सम्पन्न हुन लागेको र पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले धन्यवाद दिने बेला आउन लागेको बताए । उनले दोषीलाई कारबाही गर्ने चेतावनी दिए ।

‘प्रचण्डजीलाई धन्यवाद दिन चाहन्छु । उहाँ सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ । सरकारले सेरा दरबारको अनुसन्धान गरिरहेको छ र गर्नुपर्ने काम गर्छ । र, उहाँ धन्यवाद दिन तयार भएर बस्दा हुन्छ’, उनले भने । यसबारे गत कात्तिक २६ मा सीआईबीले भूमिमन्त्री बलराम अधिकारीसँग छलफल गरेको थियो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा भएको छलफलबाट ‘गौरीशंकर कृषि फार्मिङको स्वामित्वमा रहेको जमिन अन्नपूर्णमा ल्याउँदा आवश्यक कागजातको प्रकृति बुझ्ने, संयुक्त टोली बनाई स्थलगत भ्रमणमा गई उक्त जमिनमा उद्देश्यअनुरूप कृषि फर्म सञ्चालन भएरनभएको अनुगमन गर्ने भन्ने निर्णय भएको थियो ।

दरबारको जग्गा हिनामिना गरेको आरोपी विकेश श्रेष्ठ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ का हुन् । श्रेष्ठले आफू माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पूर्वस्वकीय सचिव भएका कारण जग्गा विवाद निकालिएको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण फार्मिङ कम्पनी आफूसहितको समूहले कानुनबमोजिम नै किनेको उनको दाबी छ । प्रधानमन्त्री कार्यालयको सक्रियतामा राजनीतिक पूर्वाग्रह झल्किने गरी माओवादीसँग जोडेर कम्पनीको जग्गासम्बन्धी विवाद निकालिएको श्रेष्ठको भनाइ छ ।