त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तर तहका नेटवर्क तथा साइवर सेक्युरिटी कोर्समा नयाँ विकल्पहरू अघि सारेको छ । संस्थानले स्नातकोत्तर तहको एमएसस्सी कम्प्युटर इन्जिनियरिङ स्पेशलाइजेशन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी कार्यक्रममा दुई विकल्प अघि सारेको हो
साइबर सुरक्षासँग सम्बन्धित भएको यो कार्यक्रमले विश्वभर नै यस्ता विशिष्टीकृत कार्यक्रमहरूमा दुई विकल्प दिने गरेका छन् । जसमा पहिलो विकल्प भनेको एमएस्सी वाई रिसर्च र एमस्सी वाई कोर्स रहेका छन् ।
संस्थान अन्तर्गत सबै स्नातकोत्तर तहका कार्यक्रममा हाल एमएस्सी वाई रिसर्च मात्रै विकल्प दिइँदै आएको छ । अबदेखि एमएस्सी वाई कोर्स समेत विकल्प दिइने संस्थानका सहायक डीन प्राडा विनोद कुमार भट्टराईले जानकारी दिए ।
रिसर्चको विकल्पमा विद्यार्थीले प्रत्येक चौथो तथा अन्तिम सेमेस्टरमा १६ क्रेडिट बराबरको पूर्ण अनुसन्धानमा आधारित थेसिस गर्दै आएका छन् । अनुसन्धानात्मक थेसिस गर्नुपर्ने बाध्यताले विद्यार्थीहरूलाई उपाधि हासिल गर्न गाह्रो हुने गरेको छ भने उत्तीणदर समेत कम हुँदै गएकाले अन्तर्राष्ट्रिय असल अभ्यासलाई स्वीकार गर्न जरुरी रहेको हुँदा यस्तो निर्णय गरिएको भट्टराईले बताए ।
यसले गर्दा भविष्यमा विद्यार्थीहरूलाई विद्यावारिधि लगायत अनुसन्धानमा नलाग्ने उत्पादनमुखी इन्डस्ट्रीमा काम गर्नेहरूलाई कोर्सको विकल्प दिइएको उनले बताए । उद्योगहरूमा कार्यरत जनशक्तिले अनुसन्धानमा नलाग्ने हो भने अन्तिम सेमेस्टरको १६ क्रेडिटको थेसिसको सट्टामा सोही क्रेडिट बराबरको कोर्सहरू पढ्न पाउने र परीक्षामा उत्तीर्ण भई उपाधि प्राप्त गर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको उनको भनाइ छ ।
संस्थानले २०८० को ब्याचदेखि नै लागू हुने गरी पहिलो पटक यस्तो विकल्प समेत दिने निर्णय गरेको बताए । साथै उक्त कार्यक्रममा २० जनाको भर्ना क्षमतालाई बढाएर २४ सिट कायम गरेको छ । भर्ना हुनेहरूमध्ये कम्तीमा एक जनाले टिचिङ असिस्टेन्ट (टिए(, रिसर्च असिस्टेन्ट (आरए) भई विभागमा अध्यापन तथा अनुसन्धान गर्न पाउने उनले बताए ।
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा कोर्समा आधारित उपाधि र टीए, आरए जस्तो छात्रवृत्ति प्रदान गर्दै आएका छन् । पछिल्लो समय उच्च शिक्षाको अध्ययनका लागि विदेश जाने दर बढ्दै गएको र नेपालकै विश्वविद्यालयबाट यस्तो अवसर प्रदान गरिएपछि विद्यार्थीहरूलाई सहज हुने उद्देश्यका साथ यस्तो निर्णय गरिएको संस्थानका डीन प्राडा सुशील बहादुर बज्राचार्यले बताए ।
यो निर्णयसँगै उक्त कार्यक्रममा विद्यार्थीहरूले अन्तिम सेमेस्टरमा थेसिस लिने कि कोर्स लिने भनेर अघिल्लो सेमेस्टरमै रोज्न पाउनेछन् । कोर्स लिने विद्यार्थीहरूले थेसिसको सट्टा सेमिनार, भोलेन्टियर एसिसमेन्ट एन्ड पेनेट्रेशन टेष्टिङ, साइबर थ्रेट इन्टेलिजेन्स र इन्ड्रष्टियल प्रोजेक्ट जस्ता कोर्सहरू पढ्न सक्ने उक्त कार्यक्रमका संयोजक डाक्टर बाबुराम दवाडीले बताए । यस्तो नीतिगत निर्णयसँगै आगामी वर्षहरूमा अन्य कार्यक्रमहरूमा पनि आवश्यक रहेको कोर्समा आधारित विकल्प खोज्दै जाने नीति रहेको डीन बज्राचार्यले बताए ।
संस्थानले आगामी वर्ष २०८२ को स्नातकोत्तर तहका लागि नयाँ भर्ना प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि प्रवेश परीक्षाका लागि माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने संस्थानले जनाएको छ । प्रवेश परीक्षा माघ २५ गतेदेखि हुने संस्थानले जनाएको छ ।


















