शालीनदी र माघ स्नान

स्वस्थानी व्रत, माघमेला एकासी शुरु भइसकेको छ । साँखु बजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदीक्षेत्र रहेको छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदीक्षेत्रले चिनिन्छ ।

पंक्तिकारले बच्पनदेखि नै यहाँ हुने मेलाका बारे प्रत्यक्ष: नियाल्ने गरेको छ । केटाकेटी उमेरको झल्को आउँछ महिनाभरिको मेलामा हजारको अँकमा मात्र दान भेटी खर्च वर्चको कुरा हुन्थ्यो, अब त करोड नाघेको छ । कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन । पर्व विशेषको तीर्थ स्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरुले पुष्टि गरेकाछन् । स्वस्थानी श्रवण, माघ स्नान एवं शालिनदी लगायत विभिन्न क्षेत्रहरुमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्धापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानवजीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्धापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो । स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि बस्तुहरुको दानले तन, मन, धन सवै पवित्र बन्छ । बैशाखमा जल र अन्नदानको महत्व बढी छ भने कार्तिकमा तप र पूजाको अधिक महत्व छ । माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्कामभावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघस्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् ।

माघ स्नान बारे एउटा प्राचीन कथा यस्तो छ:
एकपटक पृथ्वीमा लामो समयसम्म वर्षा भएन । सबैले धेरै कष्ट पाए । सम्पूर्ण, वन, वनस्पतिहरु उजाड हुन थाले । फलपूmल, अनाज उव्जनी नहुँदा सबै प्राणीहरुलाई धेरै ठूलो समस्या प–यो, अकाल मृत्यु हुन थाल्यो, समस्त भूमण्डलमाा हाहाकार मच्चियो । नर्मदा नदी तटमा एउटा आश्रम बनाई आफ्ना शिष्यहरुका साथ महर्षि भृगु बस्थे । आश्रम बस्न योग्य नहुने भयो । कैलाश गिरीको पश्चिम मणिकुट नामक पर्वततिर महर्षि भृगु बस्न थाले । हिमालय पर्वतको सोक्षेत्र सुन, हिरा, मणि, जुहारात आदि रत्नले पूर्ण थियो । अनिकालको बेला यही आश्रम बनाउनु उनले उत्तम ठाने । धेरै समय यसै आश्रममा रहंदा एकपटक उनी समक्ष त्यसै पर्वतबाट झरेर विद्याधर तथा उनकी पत्नी भेट्न आए । दुई दम्पत्ती अत्यन्त मलीन र दु:खी देखिए । महर्षि भृगुले प्रश्न गरे – तिमी जोडी किन यति दु:खी छौ ? विद्याधरले जवाफ दिए, हाम्रो पुण्यको प्रभावले देवलोक पुग्यौँ । यी मेरी पत्नी रुप र लावण्यले धमक्क बलेकी छिन् तर कुन दुष्कर्मको फलले हो मेरो रुप भने बाघको जस्तो नराम्रो छ । यिनको तुलनामा म नराम्रो छु र धेरै दु:खी छु ।

मलाई शान्ति छैन । मनमनले म सदा जलिरहेको छु । कसो गरु ? भृगु त्रिकालदर्शी थिए, भन्न लागे – सुन विद्याधर नराम्रो कामको परिणाम सानै किन नहोस्, नराम्रै हुन्छ, तिमीले पूर्वजन्ममा माघमहिनाको एकादशीको व्रत गरेछौ, भोलिपल्ट द्धादशीको दिन शरीरमा तेलको सेवन गरेछौ, एकादशीको व्रत गरेर द्धादशीमा तेल सेवन गर्नाले अघि इलानन्दन पुरुरवाको हालत पनि यस्तै भएको थियो ।

उनले हिमालयबाट निस्केकी गंगामा स्नान गरेर त्यो दोष निवारण गरेका थिए । तिमी पनि त्यसै गर । विद्याधरले यो कुरा सुन्नासाथ सम्पूर्ण इन्द्र्रियलाई निग्रह गरेर, कुसासनमा बसेर, हिर्दयमा भगवान्को ध्यान गरेर, श्रीविग्रहयुक्त नीलमेघ समान श्यामवर्ण, कमलको समान नेत्र, दुई हालतमा शंख, चक्र र हातमा गदा र पद्यले युक्त, पिताम्बरधारी, कौस्तुभमणिले युक्त, गलामा वनमालाधारी भगवान् विष्णुको स्वरुपलाई संझेर, प्राण वायुलाई खिचेर, नाकको अगाडि भागमा दृष्टि दिएर, कुण्डलिनी शक्तिलाई उठाएर सुषुम्ना नाडीमा प्रवेश गराएर एक महिनासम्म निराहार कठिन तपस्या गरे । थोरै दिनमै ईश्वर प्रसन्न भएर ७ जन्मको आराधनाको अभिलेखलाई समेत हेरेर स्वयं भगवान् विष्णुले प्रत्यक्ष दर्शन दिनुभयो । त्यसदिन संयोगले माघशुक्ल पक्षको द्धादशी परेछ । सूर्य मकरराशिमा रहेछन् । विष्णुले शंखजल दिनासाथ महाराजा पुरुरवाले सुन्दर शरीर पाएछन् । रुप मनोहर भएकाले स्वर्गकी अप्सरा आकर्षित भई ऊर्वशीले उनीसंग बिहा गरिछन् । विद्याधर तिमी पनि त्यसै गर । माघमहिना नजिक आइरहेछ । माघको स्नानले सम्पूर्ण पापहरु नष्ट हुन्छन् ।

पुष्कर, काशी, प्रयाग, गंगासागरमा १० वर्षसम्म गरेको पुण्य माघ महिनाको ३ दिनको स्नानले प्राप्त हुन्छ । अक्षय पुण्य चाहनेले त मक रराशिमा सूर्य रहेको यो माघ महिनाभरि नै प्रात: स्नान गर्नुपर्छ । यसबाट आयु, आरोग्य, रुप, सौभाग्य, उत्तम गुण समेत प्राप्त हुन्छ । नरकको यातना र दरिद्रताको भय नचाहनेले यो व्रतको महिमालाई स्वीकार गर्नै पर्छ । कामधेनुले इच्छा पूरा गरेभैmँ माघ स्नानले आयु, धन दुवै वृद्धि हुन्छ । सत्ययुगमा तपस्याको, त्रेतायुगमा ज्ञानको, द्धापरमा पूजाको महत्व भए भैmँ कलिमा दानको महत्व छ र सबै युगको कर्मको महत्व माघ स्नानले बढी छ । विद्याधरले माघस्नान गरे देवमुख प्राप्त गरेर आनन्दपूर्वक मणि पर्वतमा रहे । उता महर्षि भृगु सो आश्रमतर्पm फर्के । माघ मासमा शालिनदीको स्नान विशेष रुपमा पुण्यदायी मानिन्छ । काठमाडौँको पूर्वउत्तरतर्पm रहेको साँखुक्षेत्रमा पर्ने शालिनदीमा अघि चन्द्रावतीले स्नान गरेर आपूmले सुखभोग प्राप्त गरेकी थिइन् ।

चन्द्रावती बस्ने सानो कुटी (छाप्रो) अभैm देखिन्छ । शालिनदीक्षेत्रमा हरिहर, माधवनारायणका शिला एवं मूर्तिहरु रहेका छन् । गरुड, हनुमान, सत्यनारायण आदि र ठूला, साना सत्तल, पाटीहरु पनि छन् । त्यहाँ श्रीस्वस्थानीको विशेष आराधना, पूजा हुने गर्छ । व्रतालुहरु धेरै हुन्छन् । सुवर्णवर्णकी, त्रिनेत्रधारी, प्रसन्नमुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, चारहात भएकी सम्पूर्ण भक्तहरुको इच्छापूर्ति गर्ने देवीका रुपमा श्री स्वस्थानीको व्रत–उपासना गरिन्छ ।