महिलालाई कार्यकारी पदमा पुराउनै पर्ने बाध्यात्मक संबैधानिक र कानुनी व्यस्था हुनु पर्दछ : नेसपा नेतृ सृजना सुबेदी

तपाई लामो समयदेखि बिशेषगरी नेपालको बामपन्थि आन्दोलन र पछिल्लो समय नेसपा (नयाँशक्ति) पार्टीमा सक्रिय रहँदै आउनु भएको छ, एउटी नेतृको हिसाबले भन्नु पर्दा नेपालमा महिलालाई राजनीतिमा सक्रिय हुन कति सहज छ ?
नेपाली समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक छ । छोरीलाई जन्मदै देखि बिभेद गरिन्छ । छैठी नगरि दिने, पुजाआजा नगर्ने त हाम्रो समाजमा सदियौं देखि चल्दै आएको छ । वंश धान्न छोरानै चाहिन्छ भन्ने सामाजिक सोंच छ । हामी राजनीतिमा सक्रिय महिलाहरुले नेपाली समाजमा भएको यो विभेदकारी साेंच बदल्नु पर्दछ भनेर लाग्दै आएका छौ ।

जहाँसम्म राजनीतिमा सक्रिय हुन कति सहज छ भन्ने यहाँको प्रश्न छ । यसमा मलाई के लाग्दछ भने कुनै पनि चिज सहजै प्राप्त हुँदैन, संघर्ष र दु:ख गर्नै पर्दछ । जागिर खार्दै पढ्नु पर्दछ, मेहनत गर्नु पर्दछ । खेति किसानी गर्न पनि हिलो, धुलोमा खेल्नु पर्ने हुन्छ । उन्नत बिउ खोज्न, उत्पादनको बजार खोज्न मिहेनेत गर्नै पर्दछ । झन तपाईले प्रश्न गर्नु भए जस्तो समाज परिवर्तन गर्ने र अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय रहन त धेरै चुनौतिहरुसँग संघर्ष गर्नै पर्दछ ।

पितृसतात्मक सोंच भएको समाजमा छोरी मान्छे घर छाडेर संघर्षमा लाग्न सहज छैन तर राणा शासनको बेला योगमाया न्यौपानेदेखि प्रजातान्त्रिक आन्दोलनमा शाहना प्रधान, मंगलादेवी सिंह, शैलजा आचार्य, अधिकार प्राप्ति र समाजमा सकारात्मक परिवर्तनका निम्ति लाग्नु भयो । सशस्त्र बिद्रोहका बेला महिला साथीहरुले हतियार नै उठाउनुभयो । अग्रज दिदीहरुले अवलम्बन गरेको बाटोलाई निरन्तरता दिदंै हामी पनि अगाडि बढ्यौ । सहज छैन तर सहज नभए पनि नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको सहभागिता उल्लेखनीय छ ।

एउटा छोरी मान्छे घरबाट बाहिर निष्कदा समाजका मान्छेहरुले बाआमालाई तिम्री छोरी यस्तो उस्तो भनेर कुरा काट्छन् । तिम्री छोरी गलत बाटोमा हिँडीे भन्ने गर्दछन्। बाआमालाई पनि हो कि क्या हो, छोरी गलत बाटोमा हिडिकि छिन् कि भन्ने लाग्न सक्छ । बाहिर नगए हुन्थ्यो भन्ने लाग्न सक्छ । एउटी छोरी बिहे नहुदाँसम्म बुवा आमाको छोरी हुन्छिन् हजुरबुवा, हजुरआमाको नातीनि ह्नछिन् ।, त्यसैले उनी आफू अनुशासित बन्ने घरपरिवार बुवाआमा, हजुरबुवा, हजुरआमा, दाजुभाईलाई सम्झाउने हो भने घरबाट बाहिर निष्कन सहज हुन्छ । घर परिवारलाई सम्झाउन नसक्दा घरबाट निस्केर राजनीति गर्न असहज हुन्छ । आफू सहि भएर परिवारलाई सम्मझायो भने घरबाट निस्केर राजनीति गर्न असम्भव छैन ।

समाजमा पितृसतात्मक सोंचका साथै महिलामा आर्थिक अधिकार नहुँदा पनि समस्या होलानी ?
अवश्य पनि कुनै काममा अगाडि बढ्न आर्थिक पनि चाहिन्छ, महिला पनि राजनीति वा अन्य क्षेत्रमा अगाडि बढ्न आर्थिक पनि चाहिन्छ । यसको निम्ति महिलाले पनि आफ्नो क्षमता अभिवृद्धि गरेर आफैले कसरी आर्थिक आर्जन गर्न सकिन्छ भनेर सोच्नु पर्दछ । ठाउँ अनुसार ठुलो सानो व्यवसाय गरेर अगाडि बढ्नु पर्दछ । पूँजि प्रयाप्त नभएमा सानो पूँजिले गर्न सकिने जस्तो कि तरकारी खेती कुखुरा पालन, बाख्रापालन वा घरमै तयार गर्न सकिने अचार, हस्तकलाका सामानहरु उत्पादन गरेर आर्थिक जोहो गर्न सकिन्छ । यस्तै आफ्नो अनावश्यक खर्च कटौती गरेर पनि आर्थिक रुपले सवल बन्न सकिन्छ ।

महिलाले राजनीतिमा हिड्दा विभिन्न खाले हिंसा भोग्नु परेका गुनासाहरु पनि आउने गरेका छन यहाँको अनुभुति कस्तो छ ?
पहिला त हिंसा के लाई भन्ने ? हिंसा कस्ता–कस्ता प्रकारका हुन्छन ? भन्ने बुझ्नु पर्दछ, हिंसा मानसिक शारीरिक, मनोबैज्ञानिक धेरै प्रकारका हुनसक्छन् । यी मध्ये कुनलाई कसरी लिने त्यो व्यक्ति पिच्छे फरक पर्न सक्छ । राजनीतिमा सक्रिय महिला साथीहरुको कुरा सुन्दा कुनै न कुनै प्रकारका हिंसा भोग्नु परेको सुनाउनु हुन्छ । म विगत ३० बर्षदेखि राजनीति र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय रहदै आएकी छु । म समाजमा झगडा मिलाउनेदेखि मलामी जान पनि तयार भएर हिडिरहेकी छु । यो क्रममा विभिन्न खाले समस्यासँग त जुध्नै पर्दछ । घर बाट निस्कन सहज हुँदैन पहिला बिद्यार्थीकालमा हामी राजनीतिक प्रशिक्षणमा जाने गर्दथ्यौं । आफ्नो चेतना बढाउन राजनीतिक प्रशिक्षणमा जानु जरुरी थियो । त्यसबेला दिनभरि त सबै काममा नै ब्यस्त हुनु पर्दथ्यो प्रशिक्षणमा जान साँझ परेपछि घरबाट हिंड्नु पर्ने यसरी जाँदा दाजुहरु, काकाहरु वा भाईहरु साथमा भए आमाबुवा ढुक्क भएर जाउ भन्ने नत्र डराउने ढुक्क हुन साथमा पुरुष मान्छे हुनै पर्ने हुनु पर्ने । यस्ता धेरै समस्या भोगियो ।

नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश, मुख्यसचिव महिला भई सक्नु भयो अब मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री महिला कहिले हुने ?
नेपालका कुनै पनि आन्दोलन महिलाहरुको सक्रिय सहभागिता बिना सफल भएका छैनन । हरेक आन्दोलनमा महिलाहरुको सक्रिय सहभागिता छ । अहिले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री महिला नभएको महिलामा क्षमता नभएर होईन । सबै प्रमुख दलका अध्यक्ष पुरुष हुनु हुन्छ । उहाँहरुले महिला अगाडि सार्नु भएन । त्यसैले पहिला–महिला पार्टी अध्यक्ष हुनुपर्दछ । अनि महिला प्रधानमन्त्री बन्न सहज हुन्छ । तपाईले प्रश्नमा सोधे जस्तै नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश,मुख्यसचिव महिला भई सक्नु भयो । उहाँहरुले राम्रो काम गरेर जानु भएको छ । त्यसैले अब प्रधानमन्त्री हुन दौरा सुरुवाल लगाउने नै हुनु पर्दछ भन्ने मानसिकता त्याग्नु पर्दछ ।

यसको निम्ति प्रमुख दलका नेताहरुको सोंचाई बदल्नु पर्दछ । नयाँ र बैकल्पिकमा भन्ने पार्टीहरु जस्तो कि नागरिक उन्नमूक्ति पार्टीमा रञ्जिता श्रेष्ठ, विवेकशील साझा पार्टीमा समिक्षा बास्कोटा अध्यक्ष हुनु हुन्छ । अब ठूला दलमा पनि महिलाले दाबि गर्नु पर्दछ । यसलाई सहज बनाउन एउटा त समाजमा भएको पितृसतात्मक साेंच बदल्नु पर्दछ । अर्काे महिलालाई कार्यकारी पदमा पुराउनै पर्ने संवैधानिक र कानुनी व्यस्था हुनु पर्दछ । धार्मिक रुपमा पनि महिलालाई देवी माने पुज्ने गरिन्छ पुजेर राख्ने भनेको पनि कार्यकारी नबाउने हो त्यसैले समाजको साेंच, नेतृत्वमा रहेका पुरुष नेताहरुको साेंच बदल्ने र कानुन संविधानमा निश्चित समयमा महिला प्रधानमन्त्री बनाउनै पर्ने बाध्यकारी व्यवस्था भए यो सम्भव हुने छ ।

तपाईहरुले आफुलाई नयाँ र बैकल्पिक पार्टी भने पनि तपाईहरुको पार्टी अध्यक्ष पनि डा. बाबुराम भट्टराई हुनु हुन्छ यहाँहरुकै पार्टीमा हिसिला यमी जो आदिबासी जनजाति महिला नेतृ पनि हुनु हुन्छ त्यस्तै दुर्गा सोब जो पछाडि पारीएको जात र क्षेत्रबाट हुनु हुन्छ उहाँहरुलाई अब आउने महाधिवेसनमा पार्टी अध्यक्ष बनाउछौं भन्न किन सक्नु हुन्न ?
तपाईको सोधाई ठिकै हो, अवश्य पनि हामीले नयाँ अभ्यास गर्नु पर्ने हो । हाम्रो नेता पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले त पार्टीको अध्यक्षमा महिला आदिबासी जनजाती, दलित युवा आउनु पर्दछ भनि खुल्ला ह्दयले भनिरहनु भएको छ । उहाँले त अब मेरो पालो पुग्यो म अभिभावकिय भूमिकामा रहन्छु भनि रहनु भएको छ । उहाँले अध्यक्षमा महिला, आदिबासी जनजाती, दलित युवा आउन चाहे त्यसमा सहयोग गर्दछु भन्नु भएको छ यसो भनेपछि उहाँलाई दोष दिन मिल्दैन । हिजो मधेशी प्रधानमन्त्री देख्न चाहन्छु भन्दै चोथौ बरियातामा बस्नु भएकै हो । अब महाधिवेशनमा नयाँ नेतृत्व आउन चाहे उहाँले रोक्नु हुन्न । यहि देखेर त हामीले उहाँलाई नेता मानेका हौं । कोही नेतृत्व लिन तयार भएमा उहाँले रोक्न् हुन्न यसै छाड्ने कुरा त भएन । अधिवेशन आउँदै छ म अध्यक्ष बन्छु भने कोही आए बाबुरामले रोक्नु हुन्न । अधिवेशन आउदै छ अध्यक्षमा कोही उठ्न पनि सक्नु हुन्छ । विधानले अध्यक्षमा लड्न हरेक प्रतिनिधिलाई अधिकार दिएको छ ।

तपाईहरुले आफूहरुलाई नयाँ र बैकल्पिक भने पनि जनताले त सोंचे जस्तो बिश्वास गरेको देखिएन ? एकलाख सदस्य संस्थापक भएको पार्टीको अहिले भोटै लाख आउन गाह्रो देखिन्छ किन यस्तो भयो ?
बाहिरी रुपमा हेर्दा त्यस्तो देखिन्छ । हो हामीले २०७३ सालमा एकलाख संस्थापक सहित नयाँ शक्ति पार्टी स्थापना गरेका थियांै । त्यसपछि मुलुक डा.बाबुराम भट्टराईले उठाएकै एजेण्डाको पछाडि हिंडिरहेको छ । समानुपातिक समावेशिता, सुशासन, सम्वृद्धि, समाजवाद डा.बाबुराम भट्टराईकै एजेण्डा हुन् । अरु पार्टी पनि उहाँले उठाएकै एजेण्डा अंश–अंश समाएर हिंडेका छन् । डा.बाबुरामको बिचारलाई आफ्नो भनेका छन् । त्यसैले सदस्य संख्यामा हामी केही पछि भए पनि एजेण्डाका हिसाबले हामी एक नम्बरमा छौं । ऐजेण्डा सहि भए पछि पार्टी पनि बिस्तारै ठुलो हुन्छ । जनाताले बुझ्न समय लाग्दछ जनताले बुझेपछि संख्याको हिसाबले पनि पार्टी ठुलो हुन्छ ।

एजेण्डा हाम्रै छ भन्ने त मन बुझाउने बाटो न हो हुनु पर्ने त जसको एजेण्डा उसको नेतृत्व होईन र ?
जे कुरा पनि विकास हुन समय लाग्दछ । एउटा बच्चा जन्मिएर हुर्कन पनि त समय लाग्दछ । “क” लेख्न सिक्दै गर्दापनि पहिला धर्काे तान्न अनि गोलो बनाउनुपर्छ त्यसपछि खुट्टा झार्न सिकाउँछौं वा सिक्छौ । पार्टी ठूला बन्ने कुराले पनि यही प्रक्रिया पुरा गर्दै ठूलो पार्टी बन्छ । त्यसमा पनि समय लाग्दछ ।, अहिले बैकल्पिक राजनीति गर्ने भनेर धेरै दलहरु खुलेका पनि छन् । अब नयाँ र बैकल्पिक र अग्रगामी ऐजेण्डा बोक्ने दलहरु एक ठाँउ हुँदै अगाडि बढ्नु पर्दछ ।

माघ पनि लाग्यो महाधिवेशनको तयारी कस्तो हुँदैछ ?
महाधिवेशनमा मुलत दुई वटा कार्य गर्ने हो, एउटा बैचारिक पाटो अर्काे संगठनात्मक पाटो बैचारिक पाटोमा दस्ताबेज तयारी भई रहेका छन् । जसमाथि महाधिवेशनमा गम्भिर छलफल गरि बैचारिक पाटोमा अझ निखारता ल्याउने छौ । अर्कौै संगठनात्मक पाटोमा पनि पालिका प्रदेश हुँदैविभिन्न तकका महाधिवेशन गर्ने प्रतिनिधि चयन गर्नै काम भई रहेको छ । यसका साथै व्यस्थापकिय तयारी पनि राम्रो सँग हुदैछ । यही २०८१ माघ २७,२८ र २९ काठमाण्डौँको प्रज्ञाभवन कमलादीमा महाधिवेशन भब्य रुपले हुन्छ ।

अन्त्यमा ..?
अन्त्यमा म के भन्न चाहन्छु भने जो महिला दिदीबहिनी राजनीतिमा सक्रिय हुन चाहनु हून्छ, उहाँहरुले पहिला घर परिवारलाईनै सम्झाउनु पर्दछ । विवाह नहुँदा सम्म बुवा, आमा, दाजुभाईको सहयोग चाहिन्छ । विवाह भएपछि कसैको श्रीमती, बच्चाबच्चीको आमा भईन्छ, पछि सासु पनि भईएला । यस्तो अवस्थामा परिवारलाई सम्झाउदै, समाजसेवा वा राजनीतिमा सक्रिय हुनुपर्दछ घरबाट बाहिर निस्कने भनेको घर छाड्ने होईन घरपरिवार मिलाउदै सक्रिय हुने हो । त्यस्तै महिलालाई राजनीतिमा अगाडि बढाउन एउटा त समाजमा भएको पितृसतात्मक सोंच बदल्नु पर्दछ । अर्काे महिलालाई कार्यकारी पदमा पुराउनै पर्ने बाध्यात्मक संवैधानिक र कानुनी व्यवस्था हुनु पर्दछ ।