नइ प्रकाशनले ख्यातिप्राप्त दस जना साधकलाई २०८० ‘नइ पुरस्कार’ दिने निर्णय गरेको छ ।
नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्म संस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ सम्मान गरिने भएको छ ।
नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ दिने निर्णय भएको छ ।
नेपाली भाषासाहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याएको विशिष्ट योगदानका निम्ति प्रा.गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् प्रा.डा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ दिने निर्णय भएको छ ।
स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाए बापत न्युरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसै गरी सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउनसमेत महत्त्वपूर्ण योगदान दिएबापत श्री कमल प्रधान तथा श्री ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने भएको छ ।
नेपाली भाषामा बालसाहित्यका विविध विधाहरूको सिर्जनाका साथै बाल चेतनाको संवर्धनका निम्ति श्रीमती रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका श्री शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसै गरी राजधानीबाहिर रही नेपाली भाषासाहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका श्रीमती राधिका गुरागाईँलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।
पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेको जानकारी दिएको छ।


















