वामदेवको नियती : पहिले आवेशमा एमाले त्याग्छन्, पछि शिर निहु¥याएर फर्किन्छन्

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी र निरङ्कुश भन्दै तीन वर्षअघि अलग भएका नेता वामदेव गौतमलाई एमालेले भित्र्याउने भएको छ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको एमाले सचिवालय बैठकको निर्णयको चौंथो बुँदामा गौतमसँग सहकार्य गर्ने निर्णय छ । यो निर्णयसँगै एमाले फर्किन अति जोड गरिरहेका नेता गौतमको चाहना पूरा हुने भएको छ ।
गत पुसको तेस्रो साता भने उनी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एस जान तयार परेका थिए । त्यसका लागि गौतमले पार्टी कार्यालय आलोकनगरमा दुुई चरणमा नेता नेपालसँग वार्ता गरे । चरणबद्ध वार्तापछि उनी एसमा जान तयार भएका थिए । तर, चलाखीपूर्वक एमाले केन्द्रीय समिति बैठकले गौतमलाई एसमा जान रोक्नेगरी एउटा निर्णय गरेको थियो । निर्णयमा भनिएको थियो, ‘एमालेलाई निर्णायक शक्ति बनाउन विभिन्न कालखण्डमा अलग भएका व्यक्ति र समूहसँग सहकार्य वा एकता गर्ने ।’
एमालेको यही निर्णयले गौतमलाई नेकपा एस जना रोक्यो । साता दिनपछि उनी एमालेसँग नजिकिए । गत शुक्रबार र शनिबार ओलीसँग सम्वादपछि गौतमले एमाले जाने बताए ।
यसको दुई दिनपछि बसेको सचिवालय बैठकले गौतमसँग सहकार्य गर्ने निर्णय गरेको हो । तर, पार्टीमै फर्काउने चाहिँ कहिले भन्ने टुङ्गो लागेको छैन ।
झण्डै दुई साताको बीचमा गौतममा देखिएको बेचैनी र ढुलमुल नयाँ भने होइन् । केही वर्षदेखि गौतम ढुलमुले र अस्थिर नेता देखिएका छन् ।
तर, पछिल्लो समय उनी एमाले फर्किन हतारमा थिए । जबकि उनी २०७८ सालमा नेकपा एकता राष्ट्रिय अभियानको नाममा एउटा समूह लिएर एमालेबाट अलग हुँदादेखि नै ओलीले उनलाई एमाले फर्किन ढोका बन्द गरिदिएका थिए । नेकपा एकता अभियान नाम मात्रैको भयो । ओली र प्रचण्डलाई त के एमाले र माओवादीका दोस्रो तहका नेताहरूमार्फत पुनःएकता अभियान चलाउन सकेनन् ।
०७७ बाट सुरु भएको तत्कालीन नेकपाको विवादमा पनि गौतमको भूमिका ढुलमुलमै थियो । उनी विहान अध्यक्ष प्रचण्डको कित्तामा हुन्थे साँझ केपी ओलीको कित्तामा हुन्थे । अर्थात, नेकपाको सचिवालयमा गौतममात्रै यस्ता पात्र थिए जो दुुवै कित्तामा हुन्थे जतिबेला पनि । त्यतिबेला जसले फकाउन सक्यो उत्तै लाग्ने शैली प्रदर्शन गरेका थिए ।
एकबेला प्रचण्ड खेमामा पुग्दा गौतमले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्नेसम्म भने । तर, ओली खेमामा पुग्दा त्यो भनाइबाट पछि हटे ।
यी दुईवटा प्रसङ्गले गौतमको नाम लिनेबित्तिकै मानिसहरूको दिमागमा अचेल उनी अडानबिनाको र अस्थिरसँगै अति ढुलमुले चरित्र भएका नेता भन्ने लाग्छ ।
जबकि, ५० को दशकमा नेपालको राजनीतिमा गौतमको जगजगी थियो । अहिलेको जस्तो धुमिल व्यक्तित्व थिएन । पञ्चायतकालमै गौतमले नारायणी पश्चिमको तराईमा हलीको भेष धारण गरेर भूमिगतरुपमा संगठन गरेका थिए । त्यसबेला पश्चिम तराईमा उनी लोकप्रिय नेताका रुपमा परिचित थिए ।
पछि २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएर एमालेको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार गठन हुँदा उपमहासचिवको हैसियतमा रहेर पनि गौतमले एमालेको सिंगो संगठन सफलतापूर्वक हाँकेका थिए । देशभर पार्टी सङ्गठन निकै मजबुत बनाए । पार्टीमा शक्तिशाली भए । त्यसकै बलमा २०५३ मा ८ महिना उनी उपप्रधान तथा गृहमन्त्री भए । भनिन्छ, उनी सङ्गठन विभागमा रहँदा बनाएको शक्तिशाली सङ्गठनकै बलमा २०५४ को स्थानीय निकायको चुनावमा एमाले पहिलो दल बनेको थियो । सोही वर्ष महाकाली सन्धिलाई लिएर पार्टी फुटाएर नेकपा माले बनाउँदा पनि ठूलो तप्का एमालेबाट अलग भएर उनीसँगै लागेको थियो । तर, उनले जनताको बहुदलीय जनवाद भने छाडेका थिएनन् । उनी राजनीतिक व्यक्तित्व चम्किलो थियो ।
उनी हक्की स्वाभावका नेता हुन् । जे सोच्छन्, त्यो पूरा गर्न गर्नै नहुने काम पनि गर्न पछि पर्दैनन् । कतिसम्म भने काठमाडौंको बल्खुमा पार्टी कार्यालय बनाउने बेलामा उनले नाजायज व्यक्तिहरूसँग सम्बन्ध कायम गरेर आर्थिक सहयोग सङ्कलन गरेको आरोपको सामना गर्नुप¥यो ।
०६२÷०६३ सालमा केपी शर्मा ओली पक्षको विरोध हुँदाहुँदै माओवादीसँग सहकार्य गर्ने हिम्मत वामदेव गौतमले नै गरेका थिए । उनी माओवादीसँग वार्ता गर्न रोल्पा पुगे ।
गौतम तीनपटकसम्म उपप्रधान तथा गृहमन्त्री भए । पार्टीमा मनमोहनको पालापछि माधव नेपालका पालामा पनि उपमहासचिव भए ।
पार्टी राजनीतिसँगै साङ्गठिक कुशलता भएका गौतम सिद्धान्त र विचारको मामिलामा पनि चासो राख्ने नेता हुन् । पार्टीको विचार निर्माणमा समेत उनी संलग्न हुन्थे । त्यसअर्थमा ‘विचार निर्माता’का रूपमा चिनिन्थे । यसरी ५० को दशकमा कम्युनिस्ट राजनीतिमा गौतम लोकप्रिय थिए ।
तर, पछिल्ला वर्षहरूमा ढुलमुले र अस्थिर चरित्रले उनी अलोकप्रिय हुँदै गएका छन् । तर, आफू अलोकप्रिय हुँदै गएको गौतमले महसुस नै नगरेको प्रतीत हुने गरेको छ । किनभने उनले पछिल्लो दशकमै थुप्रै अलोकप्रिय कदम चाले ।
जस्तो ः २०७४ को प्रतिनिसभा चुनाव हारेका गौतमले डोल्पाका तत्कालीन नेकपा सांसद धनबहादुर बुढा होस् कि काठमाडौं– ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर सांसद हुन अधिक जोड्बल गरे । पछि उनलाई तत्कालीन नेकपाले प्रतिनिसभा चुनाव हारेको भए पनि राष्ट्रियसभा सदस्य बनायो ।
त्यसपछि गौतमले राष्ट्रियसभा सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधनका लागि नाजायज दबाब थिए । त्यो उनको प्रधानमन्त्री बन्ने चाहनासँग सम्बन्धित थियो । यसले गौतमलाई अलोकप्रिय र सत्तालोलुप नेताका रुपमा चिनायो । यो उनको स्वभावजन्य कमजोरी देखिएको छ ।
उनले तीनपटकसम्म उपप्रधानमन्त्री र गृहमन्त्री बनेर सरकारमा रहँदा पनि आफ्नो छवि लोकप्रिय बनाउन सकेनन् । पहिलोपटक २०५३ सालमा उपप्रधान तथा गृहमन्त्री भएका बेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलसँग विवाद गरे । गृहमन्त्रीका रूपमा रहँदा नेपाल प्रहरीमा चरम गुटबन्दीको सूत्रपात गराउने अपजस गौतमलाई जाने गरेको थियो । र, उनी आफ्नै चुनाव क्षेत्र बर्दिया–१ मा जनमत गुमाएका नेता बनेका छन् । त्यहाँबाट ०७४ यता लगातार कांग्रेसका सञ्जयकुमार गौतम निर्वाचित हुँदै गएका छन् ।
जुन क्षेत्रमा उनले २०४८ र २०५१ मा चुनाव जितेका थिए । उनको अलोकप्रियताले २०५६ र २०६४ मा लगातार चुनाव हारे । तर, २०७० मा भने बर्दिया–१ सँगै प्युठानबाट समेत चुनाव जिते । तर, २०७४ मा त्यही क्षेत्रमा चुनाव हारे ।
हाल उनी दलविहीनताको स्थितिमा छन् । यद्यपि, नेकपा एस जाने तयारी गरिसकेको अवस्थामा अब भने एमाले जाने तयारीमा छन् ।
उनले आफ्नो राजनीतिक जीवनमा तीनपटक भुल गरेको बताउने गरेका छन् । पहिलो २०५४ सालमा नेकपा एमाले फुटाएर, दोस्रो एमालेको नवौँ महाधिवेशनमा ओलीलाई सहयोग गरेर अनि तेस्रो २०७८ मा एमालेबाट अलग भएर ।
तर, उनी भुल सुधार्ने पक्षमा भने देखिएका छैनन् । आफ्नो घट्दो लोकप्रियतालाई उकास्नेतिर पनि उनको ध्यान गएको देखिँदैन । बरु, झन् बचनमा अपरिपक्व र अस्थिर नेता हुँदै गएका छन् ।
उनको जन्म भने प्युठानको दाखाक्वाडीमा २००५ साल असार २६ मा भएको हो । उनी नेपालको कम्युनिस्ट आन्दोलनमा जोडिएको २०२२ सालदेखि नै हो । उनको घरपरिवारदेखि मावली कांग्रेस थियो । विद्यार्थी आन्दोलनका क्रममा गौतम पक्राउ नै परे । पछि उनलाई पार्टी सेलमा मोदनाथ पश्रितले संगठित गरे ।
२०३० पछि उनी तत्कालीन को–अर्डिनेशन केन्द्रसँग नजिकिए । उनी फेरि पक्राउ परे । त्सबेला उनी दुई वर्ष जेल बसे । उनी जेलबाट निस्किँदा पार्टी नेकपा माले भइसकेको थियो र उनी पार्टी सम्पर्कमा पुगेपछि गण्डकी–धौलागिरीको इञ्चार्ज बने । अनि, २०४६ सालमा भएको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य, नेकपा एमाले बनेपछि पोलिटब्युरो सदस्य हुँदै नेकपा हुँदासम्म उनी पार्टी उपाध्यक्ष बने । हाल नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतम वाम राजनीतिमा डुब्न लागेको घामजस्ता नेता भएका छन् ।