नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न उठाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराएका हुन् ।
पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रतिपक्षी दलको हैसियतले अब ‘मौनता तोड्ने’ बेला आएको बताए । सरकारलाई बहुमतको अहङ्कारमा नअल्झिन चेतावनी दिँदै थापाले ‘कानुनको शासन’ र ‘कानुनद्वारा शासन’ बिचको भिन्नता बुझ्न आग्रह गरे ।
लोकतन्त्रमा सरकार कानुनको सेवक हुनुपर्नेमा वर्तमान सरकारले कानुनलाई ‘लठ्ठी’ बनाएर नागरिकमाथि प्रहार गर्न खोजेको उनको आरोप छ ।
‘अतिक्रमण हटाउने अधिकार सरकारलाई छ, तर आफ्ना नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन । कानुनको शासनमा परिणामजत्तिकै प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘हामी सभ्य र विनम्र भएर प्रश्न गर्छौँ, खबरदारी गर्छौँ र विकल्प पनि सुझाउँछौँ । तर, सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस् । हामी नम्र छौँ तर कमजोर छैनौँ ।’

















