क्रियाशील पत्रकार महिलाले दिए महासंघलाई यस्ता सुझावहरु

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा भएको एक कार्यक्रममा सहभागी पत्रकार महिलाले नेपाल पत्रकार महासंघलाई विभिन्न सुझावहरु दिएका छन् । ‘पत्रकारितामा महिला सवाल र महासंघको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्षहरु एवं प्रतिनिधिहरुले महासंघले पत्रकार महिलाको मुद्धालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुप (म्याग)की पूर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार बबिता बस्नेतले नेपाल पत्रकार महासंघले पत्रकार महिलाको ब्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्ने, पत्रकार महिलालाई कार्यकक्षमा काम गर्ने वाताबरण सिर्जना गर्ने, समाचार कक्षामा सुरक्षा प्रत्याभूति दिलाउने, पत्रकार महिलामाथिको अनलाइन हिंसा अन्त्य गर्नेलगायतका विषयमा काम गर्नु जरुरी रहेको बताउनु भयो ।

सार्वजनिक सेवा प्रशारण नेपाल टेलिभिजनको निमित्त नायव महाप्रबन्धक आरती चतौटले महासंघमा महिला नेतृत्वमा आउनु भनेको पत्रकार महिलाको मुद्धालाई राष्ट्रिय मुद्धा बनाउने अवसर पनि रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले दिएको सुविधा नीजि मिडिया हाउसले पत्रकार महिलालाई दिएको छ कि छैन भन्ने बुझ्ने र सुविधा दिलाउनेतर्फ महासंघलाई अग्रसर हुन नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्यसमेत रहेको चटौतको बताउदै पत्रकारितासम्बन्धि पुरस्कार र सञ्चारसम्बन्धि संस्थाको नेतृत्व तहमा हुने नियुक्तिमा पत्रकार महिलालाई प्राथमिकतामा राख्न पत्रकार महासंघले पहल गर्नुपर्ने उहाले जोड दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिको पूर्व महाप्रवन्धक एवम् डब्लुडब्लुजेकी पूर्व अध्यक्ष निर्मला आचार्यले महासंघमा महिला नेतृत्व आउनु भनेको निकै गर्वको विषय भएको बताउँदै आगामी दिनमा महासंघमा पत्रकार महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनु पर्ने या त थोरैमा ३३ प्रतिशत पुरयाउन भूमिका खेल्नुपर्ने बताउनु भयो ।

त्यसैगरी संकल्पकी अध्यक्ष एवं डब्लुडब्लुजेकी संस्थापक अध्यक्ष संगीता लामाले महासंघलाई राजनीतिक भागबण्डाबाट टाढा राख्नुपर्ने विचार ब्यक्त गर्नु भयो । उहाँले क्रियाशील पत्रकारलाई पहिचान गर्दै आगामी दिनहरुमा अझ धेरै पत्रकार महिलाहरु महासंघमा पुग्नु पर्नेमा धारणा राख्नु भयो ।


पिँधमा रहेका महिलाको विषयलाई अझै पनि नेपालका मुलधारका मिडियाले आफ्नो मेजर कन्टेन्ट बनाउन नसकेको जिकिर सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेबाले बताउनु भयो । उहाँले कन्टेन्टका विषयमा पत्रकार महिलालाई सचेत हुन समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्ष मेनुका कार्कीले आफ्नो संस्थामार्फत आर्थिक क्षेत्रमा आउने पत्रकार महिलाका लागि सिकाइको अवसर सिर्जना गरिरहेको बताउनु भयो । आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारका लागि पारिश्रमिकको समस्या नभएको र भएको खण्डमा यसका लागि संस्थागत पहल गरिने पनि उहाँको भनाई थियो ।

त्यसैगरी मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले नेतृत्वमा महिला पुग्दैमा काम गर्न त्यति सजिलो नभएकाले महासंघमा महिला नेतृत्वको यस कार्यकाललाई सफल बनाउनु सबै पत्रकारको दायित्व रहेको बताउनु भयो । जो श्रमजिबी पत्रकार छन्, उनीहरुले पत्रकार महासंघको सदस्यता नलिएको अवस्था रहेकाले कलम चलाउने पत्रकारलाई पहिचान गरि महासंघको सदस्यता दिन शिक्षा पत्रकार समूह (इजेजी)को अध्यक्ष निर्जला कक्षपतिले आग्रह गर्नु भयो । कार्यक्रममा अन्य विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले महासंघले पत्रकार महिलाको क्षमता तथा दक्षता अभिवृद्धिमा काम गर्नुपर्नेमा जोड दिए थिए ।

कार्यक्रममा डब्लुडब्लुजेको अध्यक्ष रामकला खड्काले नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डितलगायत महिला केन्द्रिय सदस्यहरु, काठमाडौं जिल्ला शाखा अध्यक्ष, प्रतिष्ठान शाखाका अध्यक्षहरुलाई सम्मान गर्नु भएको थियो ।

महासंघको अध्यक्ष शर्माले कार्यक्रममार्फत आएका सुझावलाई मनन् गरेर भविष्यमा महासंघले पत्रकार महिलाका समस्या समाधान गरि क्षमता अभिवृद्धि कार्यक्रम र अवसरको सिर्जना गर्न महत्वपूर्ण भूमिका निभाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।डब्लुडब्लुजेकी महासचिव रमिता लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष चन्दा विष्टले स्वागत गर्नु भएको थियो । Photo- Deepa Ale