क्यान्सरपीडित वडाध्यक्षलाई प्रवासीको आर्थिक सहयोग

क्यान्सरपीडित पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुकवीर नेम्बाङको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूले छ लाख ७१ हजार १८३ रुपैयाँ सहयोग गरेका छन् । सहयोग रकम संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेम्बाङकी श्रीमती माया श्रेष्ठलाई हस्तान्तरण गरे ।

त्यस क्रममा सभापति खतिवडाले नेम्बाङको स्वास्थ्य लाभको कामना गरे । वडाध्यक्ष नेम्बाङको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनले उपचारमा आर्थिक अभाव झेलिरहेका छन् । यसपछि कांग्रेसको पाँचथर–काठमाडौं सम्पर्क समिति सभापति सूर्यकुमार दाहालको पहल र अमेरिकास्थित कांग्रेसको जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्बाङ र सदस्य विशोक नेम्बाङको संयोजनमा त्यहाँस्थित नेपालीहरूले ६ लाख ७१ हजार १८३ रुपैयाँ सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस नेताहरू लक्ष्मी तावा, याम ढुङ्गाना, राजन लिम्बुलगायत थिए ।