भारतको प्रयागमा महाकुम्भ, हाम्रो देवघाट, वराहक्षेत्रमा विशेष तीर्थ स्नान र स्वस्थानी व्रत, माघमेला एकासी करिव सम्पन्न हुने क्रममा साँखु शालिनदीमा विशेष यज्ञ हुँदै यही माघ ३० गते, स्वस्थानी र शालिनदीको विशेष अनुष्ठान समापन हुँदैछ, पूर्णिमाको रातमा शालिनदी हाइटमा व्रतालुहरुले यज्ञ, आहुती र जाग्राम गर्दै व्रतको समापन गर्छन् भने घर घरमा वाचन भएको स्वस्थानीको विशेष साँगता गरेर एक वर्षका लागि यो अनुष्ठानले विदा पाउँछ । साँखु सहर अहिले झिलिमिली भएको छ र तीर्थ यात्रुहरुको भीडले अर्थचक्र बढी चलायमान पनि भएको छ । बजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदीक्षेत्र रहेको छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदीक्षेत्रले चिनिन्छ । साँखु बजारबाट शालीनदीक्षेत्र हुँदै पालुबारी एवं नगरकोट–तेलकोट हुँदै भक्तपुर जोड्ने सडक बनेको छ । हाल त्यहाँ यातायातको राम्रो सुविधा छ । यहाबाट जहरसिँहपौवा, चिया बगान, भोटेचौर पुगी दिनभरि दिल बहलाएर पिकनिक भर्दै काठमाडौँ फर्कने क्रम अहिले तीव्ररुपमा बढेको छ । यसले आन्तरिक पर्यटनको अभिविृद्धि भएको छ भने शिवपुरी, मणिचूडक्षेत्रमा रहेकी सिद्ध देवी बज्रयोगिनीको दर्शन गर्ने क्रम पनि तीव्र छ, नेपाल आफैँमा धर्म कर्मबाट अनुप्राणित देश हो र यसैबाट देशोत्थान हुने कुरामा नेपालीहरु विश्वस्त छन् ।
शालीनदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीहरूका घरघरमा श्रीस्वस्थानी देवीको व्रत उपासना गर्ने, स्वस्थानीकथा भन्ने, सुन्ने चलन रहेको छ । स्वस्थानी व्रतकथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानीदेवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ । शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । अघि यहीँ व्रत उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् ।
शालीनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्यदेशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालीनदीक्षेत्रमा बसेर गर्ने गर्छन् । वर्षेनी हजाराँैं व्रतालुहरू शालीनदीमा स्नान गर्ने गर्छन् । हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले रही, नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन् । तिनीहरू ब्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपतिक्षेत्रसम्म पुग्छन् । व्रतप्रतिष्ठा गर्दै माघशुक्ल पूर्णिमामा श्रीस्वस्थानीदेवीको व्रत साङ्गे गरी विशेष यज्ञ समेत गर्छन् । माघ महिनामा शालीनदीक्षेत्र साँखु शहर नयाँदुलहीझैंँ झपक्क सिँंगारिने गरेको छ । साँखुलाई पहिले लावण्यदेश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र अहिले पनि सुन्दर छ । कुनैबेला यहाँ शंखदेव नामक राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यस अर्थमा यहाँको नाम शंखपुर र पछि शंखरापुर भनिन थाल्यो । शंखरापुर पछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो । साँखु शँख आकारमा छ,करिव ३३ सय वर्ष पहिले जोगदेव बज्राचार्यले कलिगत संवत् १८०१ मा योजना बनाएर साँखु सहरको परिकल्पना गरेको भनिन्छ ।
सहरमा मूल ४ ढोका छन् एक ढोकाबाट देवता लाने ल्याउने, अर्कोबाट मूर्दा निकाल्ने, अर्कोबाट दुलही भित्र्याउने र अर्कौबाट छोरी अन्माउने गरिन्छ ।, आठ टोल, आठ बाटो, आठ कुलो, आठ डबली, आठ बिहार यहाँको विशेषता हो र हरेक चैत्र शुक्ल पूर्णिमादेखि शक्त्शिाली बज्रयोगिनीलाई साँखु बजारमा ल्याई खटमा राखेर एक हप्ता सम्म जात्रा गरिन्छ र नेवारी समुदाय बाहिर रहेका पनि त्यति बेला स्वस्थान फर्कने र अरु भक्तहरुको पनि ठूलो भीड लाग्ने गर्छ । दुई दिीबहिनीका रुपमा रहेकी बज्रयोगिनी एक भने आफ्नै स्थानमा रहन्छिन्, तल झारिदैन।
शालीनदी क्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूला–ठूला पाटी र सत्तलहरू छन् । यहाँं सधैंजसो कथा प्रवचनहरू भैरहन्छन् । ४ सय मिटरजति दक्षिण समथरक्षेत्रमा चन्द्रावतीको शिला छ । स्वस्थानी कथाअनुसार यहाँं चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा–हुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) पनि छ । स्वर्गदेखि अप्सराहरू आएर यहाँ माघस्नान र श्रीस्वस्थानीदेवीको पूजाउपासना गरेकाले यो क्षेत्र पुण्यक्षेत्र भएको हो । यसैक्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानीदेवीको उपासना गरेकी हुन् । स्वस्थानीदेवीको स्वरूप यस्तो छ । सुवर्णवर्णकी, तीन नेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमलनयनी, सिंँहासनमा बसेकी, ४ हात भएकी देवीले सम्पूर्ण भक्तहरूको मनोकाङक्षा पूरा गर्छिन् भन्ने जनविश्वास रहेको छ । एक हातमा नीलकमल, अर्काे हातमा शंख र अर्काे हातमा ढाल अनि अर्काे हातमा वरदमुद्रा लिएकी देवीले आमभक्तहरूको सदिच्छालाई साकार पार्छिन् । स्वस्थानीको शाब्दिक अर्थ हुन्छ– आ–आफ्नो स्थानमा बसेर आ–आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्यूत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आ–आफ्नो पदीयआचरण, मर्यादाअनुकुलको विधिव्यवहार गर्न सकेमा सबैको कल्याण हुन्छ ।
साँखु (शंखरापुर) प्राचीन समयदेखि नै पावनक्षेत्र हो । काठमाडौँको उत्तरपूर्वी क्षेत्र साँखु सिन्धुपाल्चोक जिल्ला–लप्सेफेदी– नाङ्गलेभारे– फटकशिलातर्फ जाने प्रवेशद्वार नै हो । बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिङ्ग मध्येको पावन ज्योतिर्लिङ्गेश्वर मन्दिर रहेको छ । परम्परागत शैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको दुईतले कलात्मक मन्दिरलाई ज्योतिर्लिङ्गेश्वर मन्दिरको नामले चिनिन्छ । नित्य पूजा–आरती भइरहने यो मन्दिरको पूर्व, दक्षिण र उत्तर समेत तीनैतिर सडकले छोएको छ भने उत्तरपट्टि खालि जमिन कैलाशक्षेत्र छ । गणेश, शिव, देवीहरूका मन्दिर पनि रहेको यो क्षेत्रमा शालीनदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरूको भीड लाग्छ ।
शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्परा अनुसार शिवजीे विराजमान रहनुभएको यो क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । वैशाख शुक्लपूर्णिमाका दिन यस मन्दिर परिसरमा विशेष पर्व पूजा हुने गर्छ । स्कन्दपुराण, हिमवत्खण्ड, नेपालमाहात्म्य अध्याय १२२ अनुसार सनातनकुमारले विशेष व्रतउपासना गरेपछि शिवजी खुसी भएर वरदान माग्न भन्नुभयो । साथै सनातनकुमारलाई चिरञ्जीवी हुने वरदान पनि दिनुभयो । सुरुमा ब्रह्माजीबाट सृष्टि भएका छ कुमारमध्येका सनातनकुमारले शिला स्थापना गरी यहाँ बसेर शिवजीको तप गर्नुभएको थियो । शिव प्रकट भई सनातनकुमारलाई वरदान दिएपछि सनातनकुमारले स्थापना गरेका शिलाको नाम ज्योर्तिर्लिङ्गेश्वर भएको हो । एकपटक आफ्नो कर्तव्यच्यूत भएर कुसङ्गतका कारण दुराचारी भएका एक ब्राह्मण मृत्युपछि चराको मुख लिएर अशुचियोनिमा जन्म लिन पुगेछन् । के कारणले चराको जस्तो मुख भएको अशुचियोनिमा जन्म भएको होला भन्ने खोज अनुसन्धान गर्ने क्रममा उनले एक त्रिकालदर्शी ब्राह्मणलाई भेटेछन् । पूर्वजन्ममा आफूले गम्यागम्य, भक्षाभक्ष, पाप–पुण्यको कुनै परवाह नगरेका कारण यस्तो भएको कुरो ज्ञात भएपछि त्रिकालदर्शी ब्राह्मणको उपदेशअनुसार यसै ज्योतिर्लिङ्गेश्वरको उपासना गरेर आफू शुद्ध भएछन् ।
वज्रयोगिनीको चर्चा गर्दा सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे । ब्रह्माजी डराएर योगनिद्रामा रहेका विष्णुलाई जागा भएपछि त्रिदेव ब्रह्मा– विष्णु– शिवले संयुक्त रूपमा स्तुति गरेकाले देवीको नाम योगिनी रहेको र योगिनी देवीको कृपाबाट मोह र क्रोधरूपी मधुकैटभलाई वध गर्न सफल भए । यी देवीको निवास स्थानलाई योगकुट पर्वत भनिन्छ । तान्त्रिक विधिबाट नित्य वज्रयोगिनीको पूजा हुने गर्छ । काठमाडौँ खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । वज्रयोगिनी देवी एक प्रसिद्ध शक्तिपीठ हुन् ।
काठमाडौँ उपत्यकाको उत्तरपूर्व मणिचूड डाँडोमा वज्रयोगिनी मन्दिर रहेको छ । काठमाडांँैबाट करीब २२ कि.मि.को दुरीमा साँखु बजार छ । साँखु बजारदेखि उत्तर उकाली चढ्दै गएपछि वज्रयोगिनी मन्दिर पुग्न सकिन्छ, अहिले बस नै जान्छ । यो मन्दिर नेपाली शैलीमा बनेको छ । तीन तले यो मन्दिर अलि एकान्त स्थलमा छ । वरिपरि घना जङ्गल छ । नजिकै पूर्व दिशामा प्रसिद्ध तीर्थ शालीनदी छ । हरिहरक्षेत्र शालीनदी स्नान गरेर प्राचीन समयमा नवराजले साँखुशहरको राजा हुने अवसर पाएको कुरा स्वस्थानी कथामा वर्णित छ । यो शहरलाई ८ देवीहरूले रक्षा गरेका छन् भन्ने जनश्रुति रहेको छ । अष्टमातृृका, ८ देवताहरूद्वारा रक्षित साँखु शहर सफा छ । लिच्छवि कालको अभिलेखले साँखु शहर बौद्धतीर्थ हो भन्ने जनाउँछ । हिन्दुहरूले प्रसिद्ध वज्रयोगिनीलाई काठमाडौँको दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रूपमा मनाउँछन् ।
वज्रयोगिनीको अर्काे नाम डाकिनी हो । हिन्दुहरूले ६४ ज्योतिर्लिङ्गलाई शिवलिङ्गका रूपमा विशेषगरी मनाएझैँ ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन् । ६४ योगिनीमा नैरात्मायोगिनी, खड्गयोगिनी, विद्यायोगिनी आदि प्रमुख हुन् । देवमालावंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो । नेपालमा रहेका विभिन्न पीठहरूको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनीदेवीको मन्दिर भेटिएको छैन । स्कन्दपुराण, हिमवत्खण्ड नेपाल माहात्म्यमा ‘ने’ – नामक मुनिले योगिनी देवीको विशेष उपासना गरी देवीको वरद कृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख छ ।


















