मन्त्रालय खारेजीको बहस औचित्यहिनः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार मन्त्रालयनै खारेज गर्ने विषयको बहस व्यर्थ र औचित्यहिन रहेको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसवुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केहि दिन अघि एक विज्ञले मन्त्रालय खारेजी गर्नु पर्छ भन्ने तर्कको जवाफ दिनु भएको हो ।

उहाँले फेसबुकमा आफ्नो धारणा राख्दै विज्ञ मानिएका व्यक्ति मार्फतनै यस प्रकारको धारणा आउँदा आफु तीन छक्क परेकोे उल्लेख गर्नु भएको छ । ‘नेपालको भौतिक पुर्वाधार मन्त्रालयनै पो खारेज गरौं भन्नु भएछ । यसरी कुरा आउँदा मलाई अरु कुरा भन्दा पनि यस्ता मान्छे पनि नेपालको थिंक ट्यांक संस्थामा नेतृत्व गर्न पुगेछन् भन्ने कुरामा पो चिन्ता लाग्यो।’ मन्त्री दाहालले लेख्नु भएको छ, ‘कसरी योजना आयोग चलाए होलान, के विचार ल्याए होलान ? वहस गरौं भनेर यस्ता मान्छेलाई खासै स्पेस दिनु पर्छ जस्तो लाग्दैन । तर पनि केही नेतृत्वमा रहनु भएका साथीहरुले पनि वहस गर्न खोजे जस्तो देखेर उहाँहरुको सम्मानको लागि आफूले नेतृत्व गरिरहेको मन्त्रालय भएकोले केही कुरा लेख्न मन लागेर लेख्दैछु।’ उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय देशको विकास खर्चको एक तिहाई भन्दा बढी काम हुने मन्त्रालय भएको उल्लेख गर्दै योजना आयोग जस्तो स्थानमा बसिसकेको मान्छेले देशको विकासलाई कमजोर बनाउने प्रस्ताव कसरी ल्याऊनु भयो होला ? भनेर प्रश्न पनि गर्नु भएको छ । के गर्दैछन्, विभाग र कार्यालय ? भौतिक पुर्वाधार मन्त्रालय मार्फत ३ वटा विभाग (सडक रेल र यातायात व्यवस्था विभागहरु) र एउटा पानी जहाज कार्यालय रहेको स्मरण गराउँदै मन्त्री दाहालले रेल अन्तर्गत जनकपुर जयनगर हुंदै बर्दीवाससम्मको काम हुंदैछ र यसलाई हाललाई निजगढसम्म जोड्ने लक्ष्य रहेको उल्लेख गर्नु भयो ।

पुर्व पश्चिम रेल मार्ग लगायत दुई विशाल छिमेकी मुलुक जोड्ने अन्य रेल मार्गहरुको पनि अध्ययनको अन्तिम अवस्थामा पुगेको मन्त्री दाहालले उल्लेख गर्नु भयो । पानी जहाज र यस सम्वन्धि कार्यालयका बारेमा समेत उहाँले उल्लेख गर्नु भयो। ‘पानीजहाजको सम्वन्धमा विधेययकनै संसदमा दर्ताभै आन्तरीक जलयानहरुलाई व्यवस्थित बनाउने र समुद्र सम्मको नेपालको पानी जहाजको पहुँच बढाउने गरी काम हुंदैछ । सडक विभागका सन्दर्भमा सम्पुर्ण बजेटको झण्डै ९० प्रतिशत रकम विनियोजन हुने गरेको सडक विभाग अन्तर्गत पुर्व पश्चिम सम्म फैलिएका ८० वटा राष्ट्रिय राजमार्ग लगायत हजारौं स्थानिय सडक सञ्जालको काम भैरहेका छन् । बरु यसलाई व्यवस्थित गर्न नेशनल रोड अथोरिटी बनाउने हो की भन्ने छलफल अगाडी वढाउने सोचिरहेका छौं । यो अथोरिटी भौतिक मन्त्रालय मातहातनै हुनु पर्ने छ । निश्चयनै हामी सँंग पुर्व पश्चिम ४ वटा लोकमार्गहरु ६७ प्रतिशत देखि ८० प्रतिशत भन्दा माथि प्रगति गरिरहेको अवस्था छ ।’ उत्तर दक्षिण मार्गहरु र कोरीडोरहरु अगाडि लम्कंदैछन् । नाग ढुंगा–मुङ्लिन, मुङ्लिन–पोखरा, ठुलो प्रयत्नपछि बुटवल–नारायणघाट सडक र तराईदेखि ऊच्च हिमालसम्मका कालोपत्रे सडकहरु, फास्टट्रयाक अनि नागढुंगा टनेल अब सञ्चालन मोडालिटी तैयार भैसकेको मन्त्री दाहालले उल्लेख गर्नु भएको छ ।

त्यसैगरी उहाँले फेसबुक मार्फत उल्लेख गर्दै सिद्धबाबा टनेल र अन्य कतिवटा सुरुङ मार्ग पो ब्रेक थ्रु भए औंला भाचेर गन्दै जानु पर्ला भन्दै दाहालले यी यबै कुराहरु आँखाले त देखेकै हुनु पर्ने हो नि भन्दै प्रश्न समेत गर्नु भएको छ । ‘आजका मितिबाट ३ महिना भित्र खार्पुनाथमा पुल बनेर कर्णाली हुम्लाको सदरमुकाम सिमिकोट जोडी सकेपछि मुलुक भरिका सबै जिल्ला सदरमुकामको सडक सञ्जालबाट यातायातको सम्पर्क स्थापित हुनेछ । कस्ता कस्ता चट्टानहरु छेड्दै वा नेपाली सेना समेतको सहयोगमा भौतिक मन्त्रालयले काम गर्दैछ नचाहिँदा फजुल प्रश्न उठाउने यहाँलाई केही जानकारी छ ? भौतिक मन्त्रालयको विघटनको प्रस्ताव राख्ने मित्रले यही कोलिसन सरकारको एऊटा मन्त्रालाय जस्तो राम्रो काम अरुमा नभएको भनेको रहेछ,ती राम्रा कामहरु के के हुन भनिदिएको भए सरकारको प्रचार हुने थियो।’

मन्त्री दाहालले आफ्नो धारणा राख्ने क्रममा भन्नु भएको छ, ‘मलाई एउटा बिषय दिमागी दिवालियापन जस्तो लाग्यो– बैंकमा पैसा छ तर वीपी मार्ग बनेन रे । मित्र बैंकमा पैसा क–कस्का छन् त्यसले वीपी मार्ग बनाऊन पाईन्छ र ? तपाईको सोचाई प्रति दया लागेर आयो।’ सरकारको ट्रेजरीबाट बाढी प्रकोपको शिर्षकमा पैसा छुट्टीएको र अव तिव्र गतिमा वीपी मार्ग बन्ने मन्त्री दाहालले विश्वास व्यक्त गर्नु भयो।

त्यसैगरी उहाँले ज्यादै ढिलो भएको ग्वार्को फ्लाईओभर अव चैत्र वैसाखसम्ममा बनि सक्ने उल्लेख गर्दै ‘हामी सबैको धैर्यताको बाँध फुट्दैन ढुक्क हुनुहोस्’ भनेर सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेर टिप्पणी र बहस गर्नेलाई आग्रह समेत गर्नु भयो।

मन्त्रालय खारेजी गर्नु पर्छ भन्ने तर्क आएपछि उक्त धारणामा विभिन्न व्यक्तिहरुले समेत आ–आफ्ना धारणाहरु राखेका छन् ।