भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटेस्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटनापछि उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको प्रहरीले जनाएको छ । हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको हो ।
ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाइ छ ।
प्रवक्ता अर्यालले चालकले बाटो बिराउँदा गलत बाटो गएको र साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुनसक्ने बताए । उनले पल्टिएको ग्यास बुलेट उठाउन अझै केही लाग्ने र उक्त अवधिमा हेटौँडाबाट उक्त सडक खण्ड हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई कान्तिलोक पथ वा चितवनतर्फको बाटो प्रयोग उनले आग्रह गरे ।
प्रहरी प्रवक्ता अर्यालले ग्यास बुलेटबाट ग्यास लिक नभएको र लिक हुने सम्भावना नरहेको बुझिएको बताए ।


















